वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

कठमाडौं। वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।

संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो।

अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुनेछ।

तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १४:२२