युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित बस्न दूतावासको आग्रह

काठमाण्डौ – युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गरिएको छ । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द रहेकाले अहिले बसिरहेको ठाउँमा सुरक्षीत बस्न आग्रह गरिएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने नभएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको हो ।

युक्रेन सरकार र सम्बन्धित कलेजरविश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

युक्रेनका सबै भूभागमा गरी झण्डै दुई सय नेपाली नागरिक रहेको अनुमान छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताउनुभएको छ ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १२:०४