एमसिसीबारे चीनको प्रश्न – अमेरिकाले नेपाललाई अल्टिमेटम दिएर ‘उपहार’ कसरी दिन सक्छ ?

काठमाडौं – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नेपाली जनतालाई सधैं झैँ आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने बताउनु भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै चुनयिङले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न भन्दै ‘जर्वजस्ती कुटनीतिक’ हस्तक्षेप गरेकोमा आपत्ति जनाउनु भयो ।

प्रवक्ता चुनयिङले प्रश्न गर्दै भन्नु भएको छ, ‘अल्टिमेटम दिएर दिइने उपहार कसरी पठाउन सकिन्छ ? मानिसहरूले यस्तो उपहार कसरी स्वीकार गर्न सक्छन् ? यो उपहार हो कि प्यान्डोराको बक्स ?’

एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको चुनयिङको टिप्प्णी छ । यो सम्झौता स्वीकार भएमा नेपालको राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तामा चोट पुग्ने केही विज्ञहरूले बताएको पनि उल्लेख गर्नु भएको छ ।

चुनयिङले अन्तर्राष्ट्रिय सहयोगले आपसी सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्ने चीनको विश्वास रहेको बताउँदै एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरी राज्यको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने, अन्य देशको सार्वभौमसत्ता र हितलाई हानि पुर्‍याउन नहुने र कुनै पनि राजनीतिक शर्त वा स्वार्थलाई सहयोगमा जोड्न नहुनेमा जोड दिनु भएको ग्लोबल टाईम्सले जनाएको छ ।

नेपालको एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने र चीनको क्षमताअनुसार नेपालको सामाजिक र आर्थिक विकासमा सहयोग गरिरहने पनि चुनयिङले बताउनु भएको छ ।


प्रकाशित | ११ फाल्गुन २०७८, बुधबार २१:२०