विद्युत् प्राधिकरणको नाफा छ महिनामै १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो छ महिनामै १२ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्ष प्राधिकरणको कुल नाफाको तुलनामा दोब्बर हो । प्राधिकरणले सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको छ । अघिल्लो आर्थिक वर्ष प्राधिकरणले छ अर्ब १८ करोड रुपियाँ नाफा (अपरिष्कृत) कमाएको थियो ।
आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफा गर्दै आएको छ । विद्युत् चुहावट नियन्त्रणमा सफलता मिलेको र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएकाले नाफा आर्जनमा प्राधिकरणलाई सफलता मिलेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत् चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाण वृद्धि र आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, खर्च कटौतीलगायतका कारण नाफा आर्जन गर्न सफल भएको हो । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा भने थप तीन अर्ब रुपियाँ नाफा हुने प्राधिकरणको प्रक्षेपण छ । “चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासन कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,” घिसिङले भन्नुभयो ।

आर्थिक वर्षको पछिल्लो छ महिनामा सुक्खायामका कारण उत्पादन कम हुने र भारतबाट विद्युत् आयात बढ्नेछ भने निजी प्रवद्र्धकलाई पनि यो अवधिमा महँगो शुल्क तिर्नुपर्ने हुन्छ । पुसदेखि नयाँ उपभोक्ता महसुल समायोजन भएकाले पनि चालू आर्थिक वर्षको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्ने देखिएको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपियाँ खर्च गरेको छ ।

निर्यात बढ्यो

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । गत आर्थिक वर्ष भरको विद्युत् निर्यात ३१ करोड ६० लाख रुपियाँ रहेकामा चालू आर्थिक वर्षको छ महिनामै ८० करोड ५० लाख रुपियाँको विद्युत् निर्यात भएको छ । गत आर्थिक वर्षमा चार करोड ४० लाख युनिट निर्यात भएकामा यस वर्ष आधा समयमै १७ करोड ३० लाख युनिट पुगेको छध्र

आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपियाँको विद्युत् आयात भएकामा गत आर्थिक वर्ष २१ अर्ब ८२ करोड रुपियाँ पुगेको थियो । चालू आर्थिक वर्षको छ महिनामा दुई अर्ब ५८ करोड रुपियाँको मात्र विद्युत् आयात भएको छ ।
माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपियाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

चुहावट घट्यो

चालू आर्थिक वर्षको पुससम्ममा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आर्थिक वर्षको मध्यसम्ममा २.७३ प्रतिशत बिन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गरेको हो ।

कम छैन ऋण

प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपियाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपियाँ छ । प्राधिकरणको पँुजीकृत सम्पत्ति एक खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति एक खर्ब ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब एक करोड रुपियाँ रहेको छ । गोरखापत्र दैनीकममा प्रकाशित छ ।


प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार ०९:२२