पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

काठमाडौं –  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुग्नु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा सत्तारुढ गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट  पुग्नु भएको हो । उहाँको साथमा श्रीमती आरजु राणा देउवा पनि जानुभएको छ ।

एमसिसी संसदमा टेवल गर्नुपर्ने अडानमा अडिग देउवाले आज सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्नु भएको थियो । गठबन्धनका नेताहरुले एमसिसी संसदमा टेवल गर्न अगाडि एमालेसँग संवाद गर्नुपर्ने र संसदमा भइरहेको अवरोध खुलाउन आग्रह गरेका थिए । त्यसलगत्तै देउवा एमालेले गर्दै आएको संसद अवरोध खोल्ने तथा एमसिसीका विषयमा छलफल गर्न बालकोट पुग्नु भएको हो ।

यसअघि माओवादी र एकीकृत समाजवादीले एमसिसी सदनमा टेवल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेका छन् । माओवादी र समाजवादी सरकारबाट बाहिरिए एमालेको साथ खोज्ने रणनीति देउवाको छ ।


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार २२:००