कसले दियो पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की ? क-कसलाई आयो यस्तो धम्की ?

काठमाडौं : पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको घटना बाहिरिएपछि यसले सुरक्षा संयन्त्रलाई थप चुनौती दिएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरु गरी करिब २५ जनालाई अज्ञात नम्बरबाट धम्की आएको भन्दै सार्वजनीक रुपमा बताइरहँदा यसले सुरक्षा चुनौतीमाथि प्रश्न उब्जीएको छ ।

महासङ्घका अध्यक्ष रवि सिंहले तत्कालीन अध्यक्ष शरदकुमार गौचनकै जस्तो हालत बनाउने धम्की बारम्बार आएको र पैसा ठिक पार्न धम्की दिने गरेको बताउनुभएको छ । यसमा राज्य निरीह बनेको भन्दै सिंहले चिन्ता ब्यक्त गर्नुभएको छ।

करिब दुई महिनाअघिबाटै धम्की आएको र सोको जानकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि सबै निकायमा जानकारी गराउँदा पनि बेवास्ता गरेको उहाँको आरोप छ। जसका कारण व्यवसायीहरु कार्यस्थलमा जान नसकेको उहाँको भनाइ छ ।

हाल महासङ्घका अध्यक्ष सिंह, मानार्थ सदस्य जिपछिरिङ लामा, सल्लाहकार एवम् पूर्व अध्यक्ष रमेश शर्मा, जयराम लामिछाने, सल्लाहकार शारदाप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाललगायतलाई पटकपटक धम्की आएको जनाइएको छ।

महासङ्घका पूर्व अध्यक्ष लामिछानेले आफूहरुलाई सरकारले सुरक्षा दिन नसकेको बताउनुभयो । उहाँले ठेक्का थाहा हुनेसँग ३ प्रतिशत माग गर्ने गरेको र अरुलाई निश्चित रकम माग्ने गरेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पोण्डेले धम्कीपूर्ण फोनबाट त्रासपूर्ण वातावरण सिर्जना भइ निर्माण व्यवसायीहरू आफ्नो साइट समेत सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले मुलुकमा सरकार छ भन्ने प्रत्याभूति व्यवसायीहरूले गर्न नपाएको गुनासो गर्नुभयो ।

लगातारको धाकधम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरूका परिवार, कार्यालयका कर्मचारीसमेत ठूलो त्रासमा बाँच्नु परेको पनि अध्यक्ष सिंहले बताउनुभयो । महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरू गरी करिव २५ जनालाई विगत केही समयदेखि मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको भनीरहँदा यसले ब्यवसायीलाई थप आंतकीत बनाएको देखिन्छ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार १०:३६