सरकार विरुद्ध सडकमा उत्रीयो युवा संघ, मूल्यवृद्धि खारेजदेखि नेपाली भूमि फिर्ता सम्मको माग

काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध सडक तताएको छ । युवा संघले सरकारलाई खबरदारी गर्दै आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै सडक तताएको हो ।

नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयअगाडि युवा संघले सरकारलाई ध्यानाकर्षण गराउँदै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ गरेको हो । प्रदर्शनकारीले स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता लगायतको माग राखेका छन् ।

साथै उनीहरुले कोरोनाविरुद्धको २४ लाख डोज हराएको प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष किरण पौडेलले सरकारका गलत कार्यका विरुद्धको खबरदारी अझै प्रभावकारी बनाउँदै लग्न युवाहरुलाई आग्रह गर्नु भयो ।

राष्ट्रिय युवा संघ नेपालकी सहसंयोजक क्रान्ति बुर्लाकोटीले महिलाहरुलाई अधिकार मात्र खोज्ने नभई आफ्नो दायित्व र कर्तब्यबोध गर्दै सशक्त भएर सरकारको जनविरोधी निर्णयका विरुद्ध उत्रीन आह्रवान गर्नु भयो ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार १९:१८