राष्ट्रिय समृद्धिलाई दिगो बनाउन श्रमिकको अधिकार स्थापित गर्नुपर्छ: श्रममन्त्री विष्ट

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समृद्धिका लागि श्रमिकको जीवनमा गुणात्मक सुधार ल्याउनुपर्नेमा जोड दिनुभएको छ । विश्व श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री विष्टले राष्ट्रिय समृद्धिलाई दिगो बनाउन पनि श्रमिकको अधिकार स्थापित गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो ।

मन्त्री विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनको लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवम् प्रक्रियागत सुधार थालेको बताउनुभयो । उहाँले भन्नुनभयो, ‘सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गरेको छ । श्रमको सम्मानलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाइएको छ । श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजनाहरु आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको श्रृजना गरी रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्‍घोष गरिएको छ।’

दिवसको अवसरमा मन्त्री विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, लामो समयको राजनीतिक आन्दोलनको आरोहअवरोह पार गरी नेपाल अहिले राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । राजनीतिक रूपान्तरणको यस चरणसम्म आइपुग्न इतिहासको विभिन्न कालखण्डमा श्रमिकहरूले पुर्‍याएको योगदान अतुलनीय छ। आजको यस ऐतिहासिक दिनमा उक्त योगदानलाई उच्च मूल्यांकनका साथ विशेष रुपमा स्मरण गर्न चाहन्छु।’

शुभकामना

विश्वभरिका श्रमिकहरूले अधिकार प्राप्त गरेको दिनको सम्झनामा मनाइदै आएको “अन्तर्राष्ट्रिय श्रमिक दिवस” को अवसरमा आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । लामो समयको राजनीतिक आन्दोलनको आरोहअवरोह पार गरी नेपाल अहिले राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । राजनीतिक रूपान्तरणको यस चरणसम्म आइपुग्न इतिहासको विभिन्न कालखण्डमा श्रमिकहरूले पुर्‍याएको योगदान अतुलनीय छ । आजको यस ऐतिहासिक दिनमा उक्त योगदानलाई उच्च मूल्यांकनका साथ विशेष रुपमा स्मरण गर्न चाहन्छु ।

राजनीतिक परिवर्तनलाई दिगो बनाई मुलुकको आर्थिक-सामाजिक विकासका माध्यमबाट “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्प साकार पार्न श्रमिकहरूको महत्वपूर्ण भूमिका रहन्छ । तसर्थ श्रमिकको जीवनमा गुणात्मक परिवर्तन नआई राष्ट्रिय समृद्धि दिगो हुन सक्दैन भन्ने वास्तविकता सम्बद्ध सबै पक्षबाट आत्मसात हुन जरुरी छ ।

संविधानमा उल्लिखित श्रमिकका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनको लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवम् प्रकृयागत सुधार थालेको छ । यस क्रममा श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गरिएको छ । श्रमको सम्मानलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाइएको छ । त्यसैगरी श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजनाहरु आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको श्रृजना गरी रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्‍घोष गरिएको छ । त्यसैगरी श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका नवीन कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएका छन् ।

श्रमिकहरूलाई वर्तमानमा उनीहरुको आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको श्रृजना गर्न सकिएमा मात्र श्रमको उत्पादकत्व वृद्धि हुन सक्दछ । यसतर्फ तीनै पक्षहरू- सरकार, रोजगारदाता र श्रमिकहरुले एकआपसमा हातेमालो गर्दै सबै किसिमको कामप्रति सम्मान गर्ने संस्कृति विकास गर्न श्रम दिवसले थप प्रेरणा दिने विश्वास मैंले लिएको छु ।

अन्त्यमा, श्रमिकका आर्थिक एवम् सामाजिक हक अधिकार सुनिश्चित गराउन क्रियाशील श्रमिक संगठन र प्रत्येक श्रमिकले मुलुकमा ‍औद्योगिक शान्ति एवम् असल श्रम सम्बन्धको विकासका लागि आफ्नो अधिकार तथा भूमिका खोज्ने र दायित्व निर्वाह गर्ने प्रेरणा आजको दिनले हामी सबैमा सञ्चार गर्न सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मा. गोकर्ण विष्ट

मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०८:३६