मन्त्रिपरिषद् बैठकका ८ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौं – मन्त्रिपरिषद् बैठकका ८ वटा निर्णय सार्वजनिक भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नु भएको हो ।

बैठकले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु। दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

सरकारले संगठन तथा व्यवस्थापन सर्भेक्षण पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । बैठकले भोजपुरस्थित नेपाली सेनाको फस्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीयको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ ।

कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकाको वनक्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

सरकारले विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेसनरी प्रचलनमा नल्याउने र कानुनबमोजिम नष्ट गरी मिनाह गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

यस्ता छन्  ८ वटा निर्णयहरु:

१. संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरवलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने ।

२. कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।

३. भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

४. कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाट नगरपालिका र कैलालीको गोदावारी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

५. विभिन्न समयमा छपाइ भएका प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलकका स्टेसनरीहरू प्रचलनमा नल्याउने कानुनबमोजिम नष्ट गर्न स्वीकृत दिने । स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

६. लोकसेवा तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने ।

७. विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने करिब दुई अर्ब ६१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।

८. विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारणलाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।


प्रकाशित | १२ माघ २०७८, बुधबार १७:०२