केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दले

काठमाडौं –  काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै शर्मालाई विद्यार्थीले कालोमोसो दलेका हुन् ।

पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् ।

कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किनु भएको छ । शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो ।

शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् ।

 


प्रकाशित | ३० पुष २०७८, शुक्रबार १८:१९