एनआरएनएलाई बिघटनबाट जोगाउन सहमति कार्यान्वयन गर्दै निर्वाचन मिति घोषणा गरौ : गौतम

बेल्जियम – गैर आवासीय नेपाली सघ बेल्जियमका पूर्व अध्यक्ष तथा आइसिसी सचिव पदका उम्मेदवार गंगाधर गौतमले संघलाई बिघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्न माग गर्नु भएको छ ।

विधान समितिका सह-संयोजक समेत रहनु भएको गौतमले अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउँदै ६५ देशका ३५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मताधिकार सुरक्षित गर्न र संघलाई बिघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्नु भएको हो ।

सर्वपक्षीय तथा परराष्ट्र मन्त्रालयको जानकारीमा समेत भएको सहमति कार्यन्वयन नभए संघ विघटनमा जाने प्रायः निश्चित रहेको उहाँको भनाइ छ ।

गौतमले पठाउनु भएको पत्रमा भनीएको छ, ‘संघको निर्वाचनको लागि पाटन उच्च अदालतले समेत वैधानिक रुपमा निर्वाचनको बाटो खोली दिएको छ । संघको आफ्नै बिधान अनुरुप वर्तमान कार्यसमितिको कार्यअवधि २ महिनाभित्र सकिने अवस्था, परराष्ट्र मन्त्रालय र पाटन उच्च अदालतले समेत निर्वाचनको लागि आवश्यक मार्गप्रसस्त गरि सके पछि कुनै पनि बहानामा निर्वाचन रोक्ने सुविधा अब गैर आवासीय नेपाली संघलाई छैन् ।’

गौतमले थप्दै भन्नु भएको छ, ‘केन्द्रीय महाधिवेशन आयोजना गर्न र निर्वाचन सम्बन्धी प्रक्रियाका बिषयमा संघ भित्र उत्पन्न विवाद असमजदारीलाई अन्त गर्न अध्यक्ष कुमार पन्तद्धारा गठित विवाद समाधान समिती, उम्मेदवारहरु, संघ र सहजकर्ताका बीचमा गत साता भएको सहमति सर्वजनिक भैसकेको छ ।’

संघको महाधिवेशन प्रतिनिधि विवादलाई समेत सम्बोधन गर्ने गरि सर्वपक्षिय रुपमा भएको सहमतिका आधारमा तत्काल अघि बढ्नुको कुनै विकल्प नभएको भन्दै गौतमले सहमतिकै आधारमा संघको १० औं केन्द्रीय महाधिवेशन तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरि निर्वाचनको सुनिश्चितता गर्न आग्रह गर्नु भयो ।

 


प्रकाशित | २९ पुष २०७८, बिहीबार १२:१६