एनआरएनएको कुनै सहमति-पत्रमा मैले हस्ताक्षर गरेको छैन : डा. यादव पण्डित

न्यूर्योक – गैर आवासीय नेपाली संघ विवाद समाधान समितिका सदस्य डा.यादव पण्डितले आफूले कुनै सहमति पत्रमा हस्ताक्षर नगरेको बताउनु भएको छ । कुल आचार्य पक्षबाट समितिमा प्रतिनिधित्व गर्नुहुने डा. पण्डितले विभिन्न सञ्जाल र मिडियामा ७ बुँदे सहमति भएको भन्दै आफ्नो हस्ताक्षरसहित समाचार प्रकाशन गरिएकोमा आपत्ति जनाउनु भएको हो ।

एक विज्ञप्ति जारी गर्दै पण्डितले भन्नु भएको छ, ‘गैर आवासिय नेपाली संघ संग सम्बन्धित विषयमा मेरो नाम जोडिएर केहि दिनदेखि सामाजिक संजाल र केहि पत्रिकामा प्रकाशित भएका समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

उहाँले सहमतिमा अधिवेशन गरेर बैधानिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने बाताबरण निर्माण गर्न प्रयत्नशील रहेको जानकारी गराउदै त्यस्तो कार्य अझै निस्कर्षमा पुगी नसकेको र म आफैले कुनै सहमति पत्रमामा हस्ताक्षर नगरेको बताउनु भयो ।

संघमा उत्पन्न असामान्य परिस्थितिको सबै सरोकारवाला पक्षको सहमतिमा बैधानिक निकासका लागि आफू स्वयम संलग्न संघले गठन गरेको उच्च स्तरीय समितिले कार्य जारी राखेको र यस बिचमा भएका काम र अप्ठेरा बारे छिट्टै नै औपचारिक पत्रकार भेटघाट गर्ने जानकारी गराउने पण्डितले बताउनु भयो ।

 


प्रकाशित | २९ पुष २०७८, बिहीबार ११:३४