बेलायतमा ओमिक्रोन संक्रमण : एकैदिन चार सयको निधन

लन्डन । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमणले भयावह रुप लिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको बुधबार जनाएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत साताको तुलनामा ३३।४ प्रतिशतले कमी हो ।

अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको छ । यसअघि ओमिक्रोनका कारण बेलायतमा दैनिक संक्रमित संख्या दुई लाख २० हजार नाघेको थियो ।

अहिले अस्पताल भर्ना हुनेको सङ्ख्या पनि वृद्धि भएको छ । बितेको २४ घन्टामा दुई हजार ४९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने १९ हजार ७३५ जनाको अस्पतालमा उपचार भइरहेको छ । यसैगरी ७९३ जना भेन्टिलेटर बेडमा उपचाररत छन् ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५७ लाख ३९ हजार ३२६ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड २० लाख ११ हजार ८३५ जना अर्थात् ९०.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ७७ लाख ७४ हजार २४८ जना अर्थात् ८३.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेका छन् ।

यसैगरी, तीन करोड ५९ लाख ५३ हजार २४३ अर्थात् ६२.५ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।


प्रकाशित | २९ पुष २०७८, बिहीबार ०९:३१