एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ धनगढी पुग्यो, १७ जनवरीमा हस्तान्तरण हुने

काठमाडौं – गैर आवासीय नेपालीहरुको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ धनगढी पुगेको छ । धनगढी पुगेको बस १७ जनवरीमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने भएको छ ।

विश्वभरि बस्ने गैर आवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बस संघको अधिवेशनको संघारमा हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर संघको अधिवेशन अनिश्चित बनेपछि हस्तान्तरण कार्यक्रम पछि सदैै आएको थियो । अहिले भने नेपालमा गैर आवासीय नेपाली संघका अध्यक्षसहित पदाधिकारीहरु आएको मौका छोपी हस्तान्तरणको कार्यक्रम तय गरिएको हो ।  बस धनगढी उपमहानगरपालिकामार्फत प्रादेशिक रक्त संचार सेवा नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरिनेछ ।

‘मोबाइल ब्लड बस’ परियोजनाका संयोजक तथा संघका सचिव गौरीराज जोशीले बस हस्तान्तरणको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भयो । १७ जनवरीमा एक कार्यक्रमकाबीच बस हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको संयोजक जोशीले बताउनु भयो ।

बसको कुल लागत ६० लाख हाराहारीमा भए पनि गैर आवासीय नेपालीहरुबाट ४८ लाख सहयोग संकलन भएको थियो ।बाँकि रकम आइसिसीको खाताबाट पछि ब्यहोर्ने गरि खरिद गरिएको थियो ।

परियोजनाका लागि सुदुर पश्चिमेली समाज अन्तर्राष्ट्रिय समिती, सुदुर पश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदुर पश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिती युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लव अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिती लगायतले सहयोग पुर्याएका थिए ।

मोबाइल ब्लड बस सुदुर पश्चिमका सबै जिल्लाहरुमा आबश्यकता अनुसार सञ्चालन गरिनेछ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको छ ।

नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सञ्चालन गरेका हौ  : गौरीराज जोशी

‘मोबाइल ब्लड बस’ परियोजनाका संयोजक समेत रहेका संघका सचिव गौरीराज जोशीका अनुसार आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

‘नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि हामीले यो परियोजना सञ्चालन गरेका हौँ,’ जोशीले भन्नु भयो, ‘नेपालका ब्लड बैंकहरुको गुणस्तर अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो।’

धनगढी सुदूरपश्चिम प्रदेशको मेडिकल हबको रुपमा विकसित हुँदै गएको तर, यहाँका अस्पतालहरुले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेको उहाँको भनाइ छ । ‘गुणस्स्तरी रगत प्रदान गर्न समय–समयमा धेरै समस्या सामना गर्नु परिरहेकोले दोस्रो परियोजना धनगढीमै सुरु गर्न लागेका हौँ,’ जोशीले भन्नुभ यो ।

यस्तै जोशीले चितवनको प्रतिकूल मौसमले गर्मी, जाडो र वर्षायाममा रगत संकलनमा चुनौती थपेको स्मरण गर्दै यो परियोजनाले प्रतिकूल मौसममा समेत रगत संकलन तथा भन्डारण सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन सहयोग गरेको बताउनु भयो ।

यसैगरी यो परियोजनाले कोभिड–१९ महामारीको समयमा पनि रक्तदातालाई सुरक्षा प्रदान गर्ने उहाँको भनाइ छ। संयोजक जोशीले विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको बताउनु भयो।

‘विश्वभरका गैर आवासीय नेपाली र विदेशमा रहेका नेपाली संघ–संस्थाको साथ र सहयोगप्रति हामी आभारी छौं,’ मोबाइल ब्लड बस परियोजनमा जोडिएका सहयोगी मनहरुलाई धन्यावाद दिँदै जोशी भन्नुहुन्छ, ‘नेपालमा सुधार गर्नुपर्ने समस्या त धेरै नै छन्। परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गत चलाइएको यो परियोजनाले देशको रक्तसञ्चार प्रणाली सुधारमा टेवा पुर्याएको छ।’

नेपालको रक्तसञ्चार प्रणालीको विकासलगायत अन्य मानवीय सायता परियोजनामा एनआरएनएले धेरै स्थानीय सरोकारवालासँग समन्वय गरिरहेका जोशी बताउँछन्। नेपालमा यस्ता किसिमका मानवीय सेवाका परियोजना पूरा गर्न आर्थिक सहयोगको आवश्यकता पर्ने बताउँदै जोशी भन्नुहुन्छ, ‘यो परियोजनाले ‘नेपालीका लागि नेपाली’भन्ने हाम्रो मूल नारा वास्तवमै कार्यान्वयन भएको देखिन्छ।’

संयोजक जोशीले बस हस्तान्तरण समारोहमा नेपालमा रहेका सबै एनआरएनएका अभियान्तालाई सहभागी हुन अनुरोध गर्नु भएको छ ।

परियोजना सफल भएकोमा अत्यन्तै खुसी छु : हिक्मत थापा-  गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष, तथा परियोजना सहसंयोजक

सन् २०१९ मा म कोषाध्यक्ष हुँदा नेदरल्याण्डमा बस्नु हुने फडिन्द्र पन्त जीले मोबाइल ब्लड बैंक बसको प्रस्ताव ल्याउनु भएको थियो । त्यो बेलाको कार्यसमितिले सो प्रस्तावलाई पारित गरेर चितवनमा परियोजना सञ्चालन गर्ने भनेर चितवन बासी समेत रहनु भएको हालका सचिव गौरी राज जोशीको सयोजकत्वमा एक समिति निर्माण गर्यो र हामीले परियोजना अगाडि बढाएका हौ । विशेष गरि पहिलो बस परियोजना सफल भएपछि हामीले दोस्रो परियोजनाप्रति उत्साहीत भएर विकट ठाउँमा यो अत्यन्तै आवश्यक र प्रभावकारी हुन्छ भन्दै सुदुरपश्चिम प्रदेशको लागि अभियान शूरु गर्यौ । अभियान सञ्चालनको दौडानमा कोभिड-१९ महामारीका कारण कोभिड पीडितको सहयोगमा जुट्नुपर्दा अभियानमा केहि ढिला भए पनि अन्तत अभियान सफल भएकोमा अत्यन्तै खुसी छ । म आफै सुदुरपश्चिम बासी भएको नाताले पनि सबैभन्दा पछाडि परेको क्षेत्रमा गर्ने भनेर प्रस्ताव गरेकोमा सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । परियोजना सफल भएकोमा विदेशमा रहेका सुदुर पश्चिमका विभिन्न समाजहरु, एनआरएनए आइसिसी, एनसिसीहरु, अफ्रिकाका गैर आवासीय नेपालीहरु र यसको नेतृत्व गर्नुहुने आइसिसी सचिव गौरी राज जोशीलगायत सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

यतिखेर बस पनि धनगढी पुगिसकेको छ । धनगढीमा डिसेम्बरको अन्तिममा पुगिसकेको र आफ्नै कारण हस्तान्तरणमा केहि ढिलाई भए पनि चाँडै हस्तान्तरण गर्न गइरहेको जानकारी गराउन चाहान्छु । बसले सुदुरपश्चिमका सबै क्षेत्रमा सेवा प्रवाह हुने र कर्णालीका बाँके, बर्दीया समेत पुग्नेछ । यसप्रति म असाध्यै खुसी छ । यो अभियान सातै प्रदेशमा अगाडि बढ्ने आसा समेत ब्यक्त गर्दछु ।


प्रकाशित | २२ पुष २०७८, बिहीबार २३:०१