भक्तपुरको मध्यपुर थिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने

भक्तपुर – नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि भक्तपुरको मध्यपुर थिमिमा हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा करिब २ सय खेलाडी सहभागी हुने छन् ।

प्रतियोगितामा जनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुनेछ । त्यस्तै युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष बोसले जानकारी दिए ।

त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी मार्थिको तौल समूहका खेलहरु हुनेछ ।

प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, महोत्तरी, सिराहा, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं जिल्ला टिम र विभागिय टिमहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना गरी २३ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा करिव २ सय जना खेलाडीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिव ५१ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुको आतेजाते यातायात खर्च र प्रतियोगिता अवधीभर खानेबस्ने व्यवस्था आयोजकले गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अन्तराष्ट्रिय प्रतियोगितामा सबै भन्दा धेरै पदक जित्न सफल भारोत्तोलन खेललाई राज्यले सधैं उपेक्षा गर्दै आइरहेको बताए । उनले भने राष्ट्रको शिर उचो बनाउन सफल खेल भारोत्तोलनको विकासका लागि सरकारको ध्यान जान सकेको छैन । उनले भारोत्तोलनको विकासको लागि स्थानीय सरकारहरुले पनि चासो दिनुपर्ने बताए ।

जुनियर÷सिनियर तथा युथ पुरुष÷महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुने छ । सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमी नगरपालिकाको थिमि बैंक्वेटमा हुनेछ । अध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।


प्रकाशित | १५ पुष २०७८, बिहीबार १९:५४