कोरोना संक्रमणको सुनामी आउँदै: डब्ल्युएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन अघिल्लो दिन १ लाख ८० हजार थियो ।

त्यस्तै, अमेरिकामा पछिल्लो साताको रेकर्डले दैनिक २ लाख ६५ हजार भन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको देखाएको छ । अष्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, पोर्चुगल र बेलायतमा पनि संक्रमितहरुको दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ ।

औसतमा अहिले विश्वमा दैनिक ९ लाख बढी नयाँ विरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ । संक्रमणको गतिले यसै पनि थकित भईसकेका स्वास्थ्यकर्मीहरुमाथि थप दबाव बढाएको भन्दै ग्याव्रियसले कतै स्वास्थ्य प्रणालीहरु नै फेल हुने त होइन भन्ने त्रास बढेको बताउनुभयो ।

धनी राष्ट्रहरुले गरीब देशहरुलाई खोप उपलब्ध गराउन छाडेर आफूहरुले बुस्टर डोजमा जोड दिंदा महामारी सोचे भन्दा धेरै समय लम्बिने देखिएको उहाँको भनाइ छ ।

अहिले पनि विश्वका एक सय भन्दा धेरै देशले आफ्नो जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउन नसकेको डब्लुएचओको तथ्यांक छ ।

डल्ब्लुएचओ प्रमखुले सन् २०२२ को मध्यसम्ममा विश्वका ७० प्रतिशत मानिसलाई खोप लगाउने नयाँ वर्षको प्रतिवद्धता जनाउन विश्व नेताहरुलाई आह्वान गर्नुभएको छ ।


प्रकाशित | १५ पुष २०७८, बिहीबार १४:५५