म थुप्रै वर्ष बार्सिलोनामा बिताउन चाहन्छु : अर्थुर

एजेन्सी : स्पेनिस बार्सिलोनाका ब्राजिलियन खेलाडी मिडफिल्डर अर्थुर मेलोले आफू बार्सिलोनामा निकै खुसी रहेको बताएका छन् । २ दिनअघि बार्सिलोना जारी सिजनको ला लिगा च्याम्पियन बनेपछि मिडियासँग प्रतिक्रिया दिँदै ब्राजिलका युवा खेलाडी अर्थुरले यस्तो बताएका हुन् । ला लिगाको च्याम्पियन बनेपछि खुसीयाली मनाउनेक्रममा अर्थुरले डेब्यु सिजनमै च्याम्पियन बन्न पाउँदा ज्यादै खुसी रहेको बताए । ‘आज म निकै खुसी छु, पहिलो सिजनमै टिमको जितमा म हिस्सेदार बनें,’ अर्थुरले खुसी व्यक्त गरे ।

अर्थुरले आफूले बार्सिलोनामा रहेर सबै उपाधि जित्न चाहेको बताए । ‘म पनि अरूजस्तै यहाँबाट सबथोक जित्न चाहन्छु, टिमलाई सघाउन चाहन्छु,’ उनले भने, ‘मेरो लग्य अहिले टिमलाई सक्दो योगदान दिनु हो ।’ अर्थुरले आफू बार्सिलोनामा खुसी रहेको पनि बताए । ‘म यहाँ निकै खुसी छु । सबै साथीभाइले मलाई सहयोग गरिरहेका छन् । ड्रेसिङ रुममा मलाई कुनै समस्या छैन,’ उनले थपे ।

२२ वर्षीय युवा खेलाडीले आफू बार्सिलोनामा धेरै वर्ष रहन चाहेको पनि बताए । ‘भविष्यमा के हुन्छ त्यो कसैलाई थाहा छैन । तर, म बार्सिलोनामा अरू थुप्रै वर्ष बिताउन चाहन्छु,’ उनले भने, ‘मेरा लागि बार्सिलोना सही ठाउँ हो ।’ अर्थुरले बार्सिलोनामा अन्य ब्राजिलियन खेलाडी पनि रहेकाले थप सजिलो हुने बताए । ‘यहाँ कोउटिन्हो र माल्कोम पनि छन्, त्यसैले हाम्रा लागि ड्रेसिङ रुम थप पारिवारिकजस्तो छ,’ उनले थपे ।

अर्थुरले कप्तान लिओनल मेस्सीले आफूलाई माया गर्ने बताए । ‘मेस्सी निकै बौद्धिक व्यक्ति हुन्, उनले एक कप्तानका रूपमा मात्रै नभएर व्यक्तिगत रूपमा पनि मलाई निकै माया गर्छन्,’ अर्थुरले थपे । अर्को प्रसंगमा अर्थुरले बार्सिलोनाले यस सिजन बाँकी दुई उपाधि पनि जित्ने बताए । ‘हामी ला लिगा च्याम्पियन बनिसकेका छौं । अबको मिसन च्याम्पियन्स लिग हो,’ उनले भने, ‘हामी तीनवटै उपाधि जित्न एकदमै सही समय र दिशामा छौं ।’

बार्सिलोनाले अर्थुरलाई यसै सिजनको सुरुमा अनुबन्ध गरेको थियो । उनले यो सिजन बार्सिलोनाका लागि ४० खेल खेलेका छन् । उनले २ गोलका लागि असिस्ट गरेका छन् । तर, उनले हालसम्म गोलको खाता भने खोल्न सकेका छैनन् ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १७:०१