कांग्रेस खुला केन्द्रीय सदस्यमा को-को भए विजयी ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ ।

त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० भित्र पर्दै निर्वाचित हुनु भएको छ ।

त्यस्तै, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल,  राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र पर्दै  निर्वाचित हुन सफल हुनु भएको छ ।

कांग्रेसको महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदेश २ को खुलाबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल तथा महिलाबाट चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।

हरेक प्रदेशबाट २ खुला र १ महिला गरी तीन जना केन्द्रीय सदस्यहरु केन्द्रमा आउने छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।


प्रकाशित | ४ पुष २०७८, आईतवार २०:०८