एनआरएनएमा मौलाएको भाँडभैलो बन्द गरौ

गणेश केसी

संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ ।

यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका छौ । त्यसैले हजारौ हजार अभियन्ताहरु पदमा भए पनि नभए पनि निरन्तर संस्थाको अभियानमा आबद्ध छन् ।

अग्रजहरुको मेहनत र पसिनाले गर्दा नै सम्पूर्ण गैर आवासीय नेपालीहरुको आस्थाको केन्द्रविन्दू भएको एनआरएनए आज सिमित ब्यक्तिहरुको निहित स्वार्थमा गाँजिएको आभास भइरहेको छ । आज एक आपसमा हिलो छ्याप्ने काम भएको छ, आरोप प्रत्यारोपको भूमरीमा फसेको छ ।

अहिलेको अवस्थामा को सही को गलत भन्दा पनि साहसीक र ऐतिहासिक विरासत बोकेको एनआरएनए कुहिरोले छोपिरिहेको जस्तो भएको छ । यसको दोषी भन्नु पर्दा साथीहरु विचको अहंमता र ब्यक्तिगत स्वार्थ भन्दा फरक नपर्ला ।

हामीमा भएको ब्यक्तिगत स्वार्थ, अस्वस्थ प्रतिस्पर्धा, नेतृत्वहरु बीचको बढ्दो अविश्वास नै कारक तत्व हो भन्ने मैले बुझेको छ । हो हामी सबैले कतै न कतै थोरै भए पनि जिम्मेवारी लिनु पर्दछ । तर वर्तमान कार्यसमिति पानी माथिको ओभानो हुन पाउँदैन । त्यसमध्ये पनि वर्तमान बाघडोर समात्ने मुख्य ब्यक्तिको दूरदर्शीता नहुँदाको परिणाम हो भन्दा फरक नपर्ला ।

सानो भन्दा सोना संस्थाको समस्या समयमै समाधान नगर्नु, राष्टिय समन्वय परिषद (एनसिसी) को निगरानीमा फितलो हुनु, डेलिगेट्स चयनमा जिम्मेवारीपूर्ण भूमीका निर्वाह नगर्नु, निर्वाचनमा वर्तमान टिमलाई पूर्ण रुपमा परिचालन गर्न नसक्नु पनि हो ।

साथै आफ्नो सल्लाहकारलाई पूर्ण रुपमा जिम्मेवारी दिन नसक्नु, प्रमुख संरक्षक र संरक्षहरुलाई समन्वय गर्न नसक्नु नेतृत्वको असक्षमता हो भन्दा फरक नपर्ला । तर जे भए पनि आज हाम्रो संस्था गम्भिर अवस्थामा गुज्रेको छ यस्तो बेलामा एक पक्षलाई मात्र दोष थुपारेर उम्कन मिल्दैन । आउनुस हामी सबै एकजुट भएर काँधमा काँध मिलाएर वर्तमान समस्याको समाधान गरौ । धन्यवाद ।

केसी गैर आवासीय नेपाली संघ दशौं अन्तराष्ट्रिय महाधिवेशनको लागि उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।


प्रकाशित | ९ मंसिर २०७८, बिहीबार १३:१९