एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यका प्रतिबद्धताहरु सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ । आचार्यले नियमीत सञ्चालन गर्दै आउनु भएको खुला डवली कार्यक्रममार्फत आफना प्रतिबद्धता सार्वजनिक गर्नु भएको हो ।

सार्वजनिक गरिएका प्रतिबद्धतामा आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्याउने घोषणा गर्नु भएको छ ।

‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गर्नु भएको आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सार्नु भएको छ ।

त्यस्तै, नेपालको संविधानले प्रदान गरेको गैर आवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले बताउनु भयो ।

यस्ता छन् आचार्यका पतिबद्धताहरु

काठमाडौँमा हुन गइरहेको दशौँ विश्व सम्मेलन अघि संघका ६० भन्दा बढी राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा राष्ट्रिय सम्मेलन र कार्यसमिति तथा केन्द्रीय प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रिया सम्पन्न भइसकेको छ । भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा निर्वाचित हुनु भएका एवम् विश्व सम्मेलनका लागि चुनिनु भएका सम्पूर्ण प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु |

गएको झन्डै डेढ वर्ष कोरोना प्रकोपका कारण सिंगो मानव जातिका साथै नेपाल तथा नेपाल बाहिर रहनु भएका नेपालीहरुका लागि निकै कष्ट पूर्ण रह्यो। यो अवधिमा कोभिड-१९ का कारण निधन हुनुभएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। कोभिडका बेला प्रवासमा तथा जन्मभूमिका लागि पनि सक्दो सहयोग जुटाउन गैरआवासीय नेपालीहरु तथा एनसीसीहरुले गरेको पहल प्रशंसनीय छ। यसले हाम्रो संस्थाको औचित्य फेरि एकपटक प्रमाणित गरेको छ।

“एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मर्म अनुरुप हाम्रा अग्रजहरूले दूरगामी परिकल्पना र मातृभूमिको विकासमा सार्थक योगदान गर्ने उद्देश्यका साथ स्थापना गरेको एनआरएनएलाई मौलिक दृष्टिकोण, रुपान्तरण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउने ‘भिजनरी’ नेतृत्व आजको आवश्यकता हो। अन्तर्राष्ट्रिय समन्वय परिषदले हस्तक्षेप गर्ने हैन, समन्वय र सहयोग गर्नु पर्छ भन्ने कुरामा म विश्वास राख्छु । त्यसैले एनसीसीहरुलाई बलियो, आत्मनिर्भर र प्रभावकारी बनाउनका लागि नै मेरो उम्मेदवारी हो।

अग्रजहरुको मार्ग दर्शन र तपाईं सबै साथीहरुको साथ, सहयोग र सुझावका आधारमा म एनआरएनएको उद्देश्य, भूमिका, नेतृत्व र चुनौतीका बारेमा आफ्ना संक्षिप्त प्रतिबद्धताहरु तपाईंहरु समक्ष राख्न चाहन्छु। मेरो विस्तृत घोषणापत्र कर्म थलोबाट छिट्टै सार्वजनिक गर्ने छु। तपाईं सबै साथीहरुको सक्रिय सहयोग र सहकार्यबाट यी सबै कार्ययोजना कार्यान्वयन गर्न म प्रतिबद्ध छु।

१. गैरआवासीय नेपाली नागरिकता: मेरो सर्वोच्च प्राथमिकता

• गैरआवासीय नेपाली नागरिकता ऐन संसदबाट पारित गराइ पासपोर्टको व्यवस्था तथा तेश्रो पुस्ता पछि पनि गैरआवासीय नेपाली नागरिकता पाउने गरी कार्यान्वयन गराउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ।
• दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली कार्डको माध्यमबाट सम्पत्ति लगायतका सबै अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न पहल गर्ने छु।
• म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा लामो समय देखि बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई नेपाल सरकारसंग पहल गरी ‘पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने छु।
• नेपालमा सम्पत्ति सुरक्षा नहुँदा सम्पत्ति बेचेर विदेश लैजाने गर्दा अर्थतन्त्रले ठूलो घाटा व्यहोर्नु परिरहेको छ। त्यसैले नेपाल सरकारसंग पहल गरी नेपालमा रहेको एनआरएनहरुको सम्पत्ति सुरक्षाको कानूनी व्यवस्था मिलाउने छु ।
• सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप प्रवासमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्ने छु ।

२. सुरक्षित र मर्यादित वैदेशिक रोजगार: राष्ट्र निर्माणको आधार

• सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको लागि एउटा कार्यदल बनाएर नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र योजनावद्ध कार्यक्रम ल्याउने छु ।
• मध्यपूर्वमा रहेका नेपालीहरुले श्रम स्वीकृतिको नाउँमा झेल्दै आएको समस्यालाई न्यूनीकरण गर्दै समस्यारहित बनाउन नेपाल सरकारसंग विशेष पहल गर्ने छु। आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर गर्ने छु। नेपालको संघीय सरकार, प्रादेशिक सरकारहरु तथा नेपालको निजी क्षेत्रसंगको सहकार्यमा एनआरएनए सीप विकास केन्द्र (प्राविधिक शिक्षालय) स्थापना गरी सातै प्रदेशमा विस्तार गर्ने छु।
• कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुलाई स्वदेशमै रोजगारी तथा उद्यम शुरु गर्न सघाउन प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजी परिचालन गरी ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने छु।
• विदेशमा काम गरेर फर्केका नेपालीहरुको स्कील म्यापिंग (skill mapping) गरी संजाल बनाई ‘श्रम ब्यांक’ मार्फत उहाँहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउने छु।
• नेपाली महिलाहरुलाई सुरक्षित र सम्मानित रुपमा काम गर्ने वातावरण बनाउन नेपाली दूतावासहरु तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा अभियान चलाइने छ।
• मध्यपूर्व र मलेसियाका अस्पतालमा उपचाररत, अंगभंग भएका नेपालीहरुको तथ्यांक संकलन गरी आवश्यक सहयोग र समन्वय गरिने छ।
• मोबाइल फोनबाटै श्रम सम्झौता गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग समन्वय गरी मोबाइल एप विकास गरिने छ।
• नेपाल सरकारसंग समन्वय गरी प्रवासमा काम गरिरहेका नेपालीहरुका लागि राष्ट्रिय सामाजिक सुरक्षा कोष स्थापना गर्न पहल गर्ने छु।

३. लगानी प्रवर्द्धन

• एनआरएनएले स्थापना गरेको १० अर्ब रुपियाँको ‘एनआरएन विकास कोष’ लाई क्रियाशील तुल्याउने छु।
• कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, जलश्रोत जस्ता क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्न विशेष नीति ल्याउन नेपाल सरकारलाई आग्रह गर्ने छु।
• बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संस्थागत पहल गर्ने छु।
• खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाउने छु ।
• गैरआवासीय नेपालीहरुले सामूहिक वा ब्यक्तिगत रुपमा नेपालमा गरिरहेका लगानीहरुलाई सहजीकरण गरी नेपाल सरकार तथा स्थानीय निकायहरुसंग समन्वय गर्नका लागि सचिवालयमा ‘लगानी प्रबर्द्धन एकाई’ स्थापना गर्ने छु।
• गैर आवासीय नेपालीहरुको लगानीलाई सहज तुल्याउन एवं मुनाफा फिर्ता लैजान नीतिगत तथा कानूनी सुधारका लागि नेपाल सरकारसंग सहकार्य गर्ने छु।
• गैर आवासीय नेपालीहरुको व्यक्तिगत तथा सामूहिक लगानी सुरक्षित गर्ने बारे नीतिगत व्यवस्था गर्न नेपाल सरकारसंग पहल गर्ने छु।
• विदेशमा बसोबास गर्ने नेपालीहरुसंग रहेको पूँजी सजिलैसंग नेपाल ल्याई नेपालको ब्यांकमा राख्न पाउने र चाहेको बेला फिर्ता पनि लग्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग पहल गर्ने छु।

४. सीप, ज्ञान र प्रविधिको हस्तान्तरण

• एनआरएनए अन्तर्गतको सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागलाई अरु सशक्त बनाउंदै नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संघको विज्ञान तथा प्रविधि नीति सम्बन्धी श्वेतपत्र जारी गर्ने छु।
• नेपाल सरकार तथा नास्ट जस्ता संस्थाहरुसंग मिलेर कोभिड सम्बन्धी अनुसन्धानको लागि National Virology Laboratory स्थापना गर्न पहल गर्ने छु।
• कोभिड तथा कोभिड पश्चातको अवधिमा पनि नेपाललाई लाभ हुने गरी सीप तथा ज्ञानको स्थानान्तरणका लागि जुन २०२२ भित्र एउटा भर्चुएल सम्मेलन आयोजना गरिने छ।
• विश्व तथा क्षेत्रीय ज्ञान सम्मेलनहरुलाई निरन्तरता दिंदै तिनका सुझावहरुको कार्यान्वयनका लागि सम्पूर्ण रुपमा ध्यान केन्द्रित गरिने छ। प्रविधि स्थानान्तरणमा नेपाली डायस्पोराको सम्भाव्य योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक वैज्ञानिक जर्नल प्रकाशन गरिने छ।
• प्रवासका विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुलाई स्वायत्त र स्वतन्त्र रुपमा काम गर्ने, खोज, अनुसन्धान गर्ने संगठनका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक सीप र ज्ञानलाई संघ र नेपालको हितमा प्रयोग गरिने छ।
• नेपालको परम्परागत प्रविधिको जगेर्ना गर्दै आर्थिक समृद्धिमा सहयोग पुराउने उद्देश्यले नेपाली विश्व विद्यालयहरु तथा संस्थाहरुसंग शिक्षा, अनुसन्धान एवं नवप्रवर्तन (Innovation) को क्षेत्रमा साझेदारी तथा सहभागितालाई प्रवर्द्धन गरिने छ।

५. युवा तथा महिला: एनआरएनएमा पहिला

• सबै एनसीसीहरुलाई आफ्ना सदस्य तथा शुभेच्छुकहरुबाट मासिक कम्तीमा एक डलर (वा त्यत्ति नै रकम स्थानीय मुद्रामा ) संकलन गरी महिला विभाग/ समितिले छनोट गरेका परियोजनाहरु कार्यान्वयन गर्न एक कार्यदल बनाइ उत्प्रेरित गर्ने छु।
• विदेशमा जन्मिएका र हुर्किएका किशोर किशोरीहरुलाई नेपाल लाने तथा नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्न ‘नेपाल चिनौं’ अभियान संचालन गर्ने छु।
• विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्ष मुनिका युवाहरुलाई सम्मान गरी एनआरएन अभियानसंग आवद्ध गर्न ‘एनआरएनए युवा तारा’ अभियान एनसीसीहरुसंगको सहकार्यमा संचालन गर्ने छु।
• नेपालमा नयाँ पर्यटन केन्द्रहरुको पहिचान गरी संसारभरी तिनको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न युवाहरुलाई प्रोत्साहित गर्ने छु।
• युवा, महिला तथा हरेक क्षेत्रमा सफल व्यक्तिहरुलाई संघको सदस्य बनाइ सदस्यता वृद्धि गर्न एनसीसीहरुलाई उत्प्रेरित गर्ने छु।
• विदेशमा रहेका एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउनका लागि एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने छु।

६. नेपालीपन, नेपाली मन

• गैरआवासीय नेपाली संघले नेपाली भाषा तथा संस्कृतिको प्रबर्धन र जगेर्ना गर्न बिश्वका हरेक देशमा नेपाली संस्कृति केन्द्र स्थापना गर्न प्रोत्साहित गर्ने छु।
• संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिलाई एनसीसीहरुसम्म पुराई प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगर्ना गर्ने छु।
• समितिले यसै बर्ष देखि गैरआवासीय नेपाली लेखकहरुलाई दिने घोषणा गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारलाई थप प्रभावकारी बनाउने छु ।
• सबै एनसीसीहरुलाई विदेशमा हुर्की रहेका बालबालिकाहरुका लागि नेपाली भाषा सिकाउन अनलाइन कक्षा संचालन गर्न प्रोत्साहित गर्ने छु। गतिलो पाठ्यक्रम, पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न केन्द्रबाटै पहल गर्ने छु।
• एनसीसीहरुसंगको सहकार्यमा ‘जोगाऔं भाषा, जोगाऔं संस्कृति’ तथा “घर भित्र बोलौं नेपाली” अभियान’ केन्द्रबाटै संचालन गर्ने छु।
• नेपालमा प्रचलित सबै धर्म, संस्कृति तथा नेपाली चाड पर्व झल्किने गरी एनआरएनए ग्लोबल क्यालेन्डर प्रकाशित गर्ने छु।

७. संस्थागत सुधार, सहकार्य तथा रुपान्तरण

• गैर आवासीय नेपाली संघलाई नेपालमा र संसार भरि प्रतिष्ठित तथा मर्यादित बनाउने मेरो प्रमुख ध्येय हुने छ। पद्धति र पारदर्शितामा आधारित समावेशी एनआरएनए बनाउने छु।
• ‘एनआएनए : भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई क्रमश: कार्यान्वयन गर्दै लग्ने छ। केन्द्रिय कार्यालयलाई प्रभावकारी र उत्तरदायी बनाउने छु।
• संघको पंजीकृत सदस्य संख्या ५ लाख पुराउने छु ।
• राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउन ठोस पहल गर्ने छु । “जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ एनआरएन” भन्ने मूल मर्म अनुरुप राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने छु ।
• सदस्यता सूचना प्रणाली (एमआइएस) लाई पारदर्शी र जवाफदेही बनाउने छु। निष्क्रिय रहेका एनसीसीहरुलाई सक्रिय तुल्याउन पहल गर्ने छु।
• ‘एनआरएनए फाउन्डेशन’ लाई केन्द्रको तर्फबाट पूर्ण सहयोग रहने छ। एनआरएनए नीति प्रतिष्ठानले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गरिने छ।
• अफ्रिकास्थित एनसीसीहरु तथा नेपाली दूतावाससंग समन्वय गरी अफ्रिका महादेशमा कार्यरत नेपालीहरुका समस्या समाधान गर्न प्राथमिकता दिने छु।
• प्रवासमा रहेका लाखौं एनआरएनहरु तथा नेपालमा रहेका तिनका परिवारलाइ सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग संस्थागत रुपमा पहल गर्ने छु।
• ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागहरुबारे आउंदो डिसेम्बर २०२१ बाट औपचारिक वार्ता शुरु गर्ने निर्णयको म स्वागत गर्दछु। वार्ताद्वारा यो समस्याको दीगो समाधान खोज्न संघको तर्फबाट हरसम्भव पहल गर्ने छु।
• एनआरएनए अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार कोषको रकम आगामी दुई वर्ष भित्र दोब्बर गर्ने छु। संसारभरिका पत्रकारहरु तथा संचारसंग सम्बन्धित संघ संस्थाहरुसंग सहकार्य गर्दै संघका गतिविधिहरुबारे भरपर्दो र पारदर्शी ढंगले सूचना प्रवाहको व्यवस्था मिलाउने छु।
• नेपालमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुसंग जुध्न नेपाल सरकारको ‘ ब्रेन गेन सेन्टर’ तथा नेपाल बाहिर स्थापित नेपाल पलिसी इन्सटिच्युट जस्ता संस्थाहरुसंग सहकार्य गर्दै एनआरएनएलाई अगाडी बढाउने छु ।
• प्रवासमा बसोबास गर्ने नेपालीहरुलाई सीप स्थानान्तरणका लागि हरेक वर्ष कम्तीमा एक हप्ता नेपाल गएर स्वयम्सेवी अभियानमा संलग्न हुन आह्वान गर्दै त्यसको अनुगमन तथा सहजीकरणका लागि एक संयन्त्र बनाउने छु।
• नेपालमा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपसंग जुध्न आवश्यक तयारी, व्यवस्थापन तथा प्रतिकार्यका लागि संघको एउटा स्थायी संरचना बनाउने छु।
• पूर्व अध्यक्षहरुले शुरु गरेका आयोजनाहरुलाई पूरा गर्ने छु । एनआरएनएद्वारा संचालित परियोजनाहरुको कार्य प्रगतिको समीक्षा गरी कुनै सुधार गर्नु पर्ने भए तत्काल सुधार गर्ने छु । त्यस्तै चालु परियोजनाहरुको आवधिक अनुगमन तथा मूल्यांकनको व्यवस्था मिलाउने छु।
• संघको निर्वाचन प्रणालीलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने छु ।

४ अक्टोबर २०२१


प्रकाशित | १९ आश्विन २०७८, मंगलवार ०९:२०