हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले अमेरिकामा स्थायी बसोवास गर्नु हुने साहित्यकार हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई अरनिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो ।

२०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये निबन्ध, संस्मरण र ब्यक्तिचित्र मार्फत समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुललित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको संकलीत गध रचना नामक कृतिलाई पुरस्कारका निम्ति चयन गरिएको जनाइएको छ ।

वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा.हरिराज भट्टराई, डा. ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समितिले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि यस कृतिको चयन गरिएको हो ।

पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैर आवासीय नेपाली संघको यहि अक्टोबरमा काठमाडौंमा सम्पन्न हुने दशौ महाधिवेशनका अबसरमा पुरस्कार हस्तान्तरण गरिने समितीका अध्यक्ष हिक्मत थापाले जानकारी दिनु भयो ।


प्रकाशित | ११ आश्विन २०७८, सोमबार १०:५७