दुर्गमका बालबालिकाको लागि अफ्रिकाका एनआरएनले स्थापना गरे छात्रवृत्ति कोष

लेगोस, नाइजेरिया । अफ्रिकामा रहेका गैर आवासीय नेपालीहरुले नेपालका दुर्गमका बालबालीकालाई लक्षित गर्दै छात्रवृत्ति कोष स्थापना गरेका छन् । कोषमा रकम जम्मा हुने क्रम पनि जारी छ ।

कोषमा पहिलो चरणमा ४ लाख रकम संकलन भएको छ । सो कोषलाई २० लाख पुर्‍याउने लक्ष्य राखिएको छ । कोषमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा, पदम भन्डारी (निवर्तमान अध्यक्ष, बोत्स्वाना) कृष्ण डुम्रे (आइभोरी कोस्ट), बिरेन्द्र गुप्ता (अध्यक्ष, नाइजेरिया), पुष्पराज भट्टराई (अध्यक्ष, तान्जानिया) र हिक्मत थापाले सहयोग गर्नु भएको हो । 

यसअघि अफ्रिकाका एनआरएनहरुको आफनै पहल र सहायतामा सञ्चालनमा रहेको एनआरएन अफ्रिका राहत कोषले अफ्रिकामा दुःखमा परेका नेपालीलाई उल्लेख्य सहयोग गरिरहेको छ ।

त्यस्तै, अलपत्र परेका नेपालीलाई बस्न , खान र घर फिर्तीको ब्यबस्था, कोरोना महामारीमा कोराना संक्रमितलाई स्वास्थ्य सेवा , खाद्यान्न सहयोग, काम छुटेकालाई घर फिर्तीको ब्यबस्था गर्दै आएको छ ।

कोरोनाबाट अफ्रिकामा मृत्यु भएका नेपालीको नेपालस्थित परिवारलाई राहत स्वरुप १ लाख सहयोग गर्दै आएको छ । गत महिना मात्र युगान्डामा मृत्यु भएका तनहुँका हीराबहादुर खडकीको परिवारलाई तीन लाख दस हजार सहयोग गरेको थियो ।

अफ्रिकाका एनएनआरएन शाखाहरुले कोरोनाको दोस्रो लहरमा नेपालका इलामदेखि मुगुसम्मका १३ जिल्लाका ३५ स्वास्थ्य सस्थाहरुमा १३०० अक्सिजन सिलिन्डरहरु सहयोग गरेको थियो ।

एनआरएनए अफ्रिकाको नाममा ६० लाख रुपैयाँ बराबरको सहयोग जुट्याएर दुर्गमका स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर सहयोग गरिएको थियो ।


प्रकाशित | २६ भाद्र २०७८, शनिबार १४:१३