अष्ट्रेलियन कम्पनीले पायो एनआरएनएको निर्वाचन गर्ने जिम्मेवारी, मिति केहि दिनमा घोषणा हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तयारी तीब्र बनाइएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनको तयारी तीब्र बनाइएको हो ।

निर्वाचनको तयारीस्वस्प निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ । आज ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । भोली बाँकि २५ प्रतिशतको नामावली सार्वजनिक गरिनेछ ।

त्यस्तै, एउटै देशबाट दुई वटा नामावली आएका यूके, अष्ट्रेलिया, अमेरिका र जापानको सवालमा भने विधान ब्याख्या समितिले अन्तिम निर्णय गरेपछि मात्र नामावली सार्वजनिक गरिने भएको छ । चार देशबाट वर्तमान कार्यसमिति र निवर्तमान कार्यसमितिबाट छुट्टाछुट्टै नामावली आएपछि विवाद भएको थियो । विधानको विषयमा प्रश्न उठेपछि त्यसको निर्णय गर्ने जिम्मा विधान ब्याख्या समितिलाई दिइएको हो ।

निर्वाचन समितिका एक सदस्यका अनुसार कार्यसमितिले मतदाता नामावली समितिलाई उपलब्ध गराएपछि निर्वाचनको मिति केहि दिनभित्रै औपचारिक रुपमा घोषण गर्ने तयारी भइरहेको हो । कार्यसमितिले केहि दिनभित्रै निर्वाचन समितिलाई नामावली दिने सहमति भएको ती सदस्यले जानकारी गराए ।

ती सदस्यका अनुसार एनआरएनएको निर्वाचन अक्टोवरको १५ तारिख अघि गर्ने कि दशैं सकिएपछि गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । केहि दिनमा यसको अन्तिम टुंगो लाग्नेछ ।

मतदानका बेला फेस भेरिफिकेशन (अनुहार प्रमाणीकरण) सुरक्षा प्रणाली अपनाइने भएको छ । निर्वाचनको व्यवस्थापनका लागि अष्ट्रेलिया र स्पेनको कम्पनीले टेन्डर हालेकोमा निर्वाचन समितिले अष्ट्रेलियन कम्पनीलाई स्वीकृत दिएको छ ।

निर्वाचन समितिको आग्रह अनुसार अष्ट्रेलियन कम्पनीले मतदाताको फेस भेरिफिकेशन प्रणाली लागू गर्न राजी भएको छ । निर्वाचन समितिले अनलाइन मतदानका लागि मतदाताहरुलाई सयममा आफ्नो फेस भेरिफिकेशन गर्न प्रष्ट देखिने सेल्फी अनिवार्य रुपमा पठाउन आग्रह गरेको छ ।

अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानको समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । यो पटक निर्वाचनमा ३ हजार ६ सय भन्दा बढी प्रतिनिधि सहभागि हुने भएका छन् । 

संघका अध्यक्ष कुमार पन्तले निर्वाचन अक्टोवरमा कुनै पनि हालतमा हुने भन्दै भ्रममा नपर्न आग्रह गर्नु भएको छ । निर्वाचन समितिलाई अन्तिम नामावली दिएसँगै आइएसको बैठकले निर्वाचन समितिले दिएको मितिलाई अनुमोदन गरिने पन्तले बताउनु भयो ।


प्रकाशित | २२ भाद्र २०७८, मंगलवार १८:१०