अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं –  सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको हो ।

परराष्ट्रका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि +९७७(९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र + ९७७(९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।

मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटबीच अलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन भएको छ ।  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतवार बोल्दै परराष्ट्र सचिव भरतराज पौडेलले एक समिति गठन गरिएको जानकारी दिनु भएको हो । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ ।

यसैबीच आइतबार तालिबानका लडाकु राजधानी काबुल पुगेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेर काबुल छिरेको हो । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिबान लडाकुले काबुलमा चारैतिरबाट आक्रमण शुरू गरेको बताएका छन् । तालिबान लडाकुहरु काबुलको बाहिरी इलाकामा पुगेपछि आतंकित कर्मचारी सरकारी कार्यालयबाट भागिसकेका छन् ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार १९:४२