‘ललिता निवास जग्गाको सबै कित्ता रोक्का’

काठमाडौं : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ता किटान गरेर रोक्का भइसकेको जानकारी दिनुभएको छ । ‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ता किटान गरेर सबै कित्ताहरु रोक्का गरेका छौं’, मन्त्री अर्यालले शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भन्नुभयो, ‘७ दिनको समयसीमामा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं।’

त्यस्तै, मन्त्री अर्यालले नेकपा महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नामको जग्गा पनि रोक्का भइसकेको बताउनुभयो । मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन।’

‘ठूला मान्छे भए पनि कानुनले छोड्दैन। सरकारले छोड्दैन,’ उहाँले थप्दै भन्नुभयो, ‘सरकारले वेतिथि अन्त्य गर्न नै यस्ता कदम चालेको हो। छानबिन र अध्ययन भइराखेको छ।’ मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि बालुवाटार क्षेत्रका जग्गा रोक्का गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘विष्णु पौडेलको हकमा जे प्रचार भइरहेको छ, तथ्य प्रमाणले त्यस्तो देखिँदैन। अतिरञ्जित भएको मैले ठानेको छु,।’


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १६:३०