आज साउनको पहिलो सोमबार, शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून

काठमाडौँ । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।
साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ ।

महामारीका कारण मन्दिरहरु प्राय बन्द अवस्थामा रहेका छन् । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।
साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार ०८:२५