एनआरएनएको सम्मेलन अक्टोबर २३–२५ मा गर्ने निर्णय, अनलाईन प्रणालीबाट मतदान, प्रतिनिधि शुल्क नलाग्ने

काठमाडौं । गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको मिति सार्वजनिक गरिएको छ । संघको शनिबार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।जसको लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने बैठकले निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ ।यसअघि २ सय डलर लिदैं आएको निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत खारेज गर्दै नि:शुल्क बनाइएको छ ।

संघका प्रवक्ता डिवी क्षेत्रीका अनुसार निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।

गैर आवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनु भयो । बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।


प्रकाशित | ३ श्रावण २०७८, आईतवार ०७:५६