प्रतिनिधिसभा विघटन मुद्दाबारे आज फैसला आउन सक्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिन सक्ने सम्भावना रहेको छ । दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो । रिट निवेदकको बहस, सरकारी वकिलको बहस, रिट निवेदकको जवाफी बहस र एमिकस क्युरीका सदस्यहरूको राय दिने प्रक्रिया सबै सकिइसकेकाले आजको इजलासबाट फैसला आउने सम्भावना बढेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संविधानको धारा ७६ को ५ बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको र संसदले सरकार दिने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको भन्दै रिट हालेका थिए । देउवाको रिटमा नेकपा एमालेका २३ जनासहित प्रतिनिधि सभाका १४६ जना सदस्यले अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । यो मुद्दामा सर्वोच्च अदालतले दिने फैसलाले देशको भावी राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा निहित भएकाले अदालतको फैसलाप्रति आमचासो छ ।


प्रकाशित | २८ असार २०७८, सोमबार १०:०८