यी प्रतिवद्वताहरु गर्ने एनआरएनए एनसिसी अध्यक्षलाई मेरो एक भोट

बसन्त रानाभाट

-अधिबेशन ताका पंजीकृत सदस्य शुल्क र उम्मेद्वारी मनोनयन शुल्कबाट उठेको २०-३० हजारको (युरो/ डलर) भरमा एनसीसी चलाउने परम्पराको अन्त्य गर्नेछु। अब त्यो रकम बिना नै एनसीसी कसरी दिगो बन्न सक्छ ? भन्नेबारे अध्ययन गर्नेछु। आर्थिक स्रोतको विकल्पबारे कार्यसमितिमा छलफल गर्नेछु। अधिबेशनको मिति नजिकिदै गर्दा बन्द कोठामा बसेर उम्मेद्वारले १० युरो / डलर खल्तीबाट हाल्दिएर चुनाव जित्नकै लागि पंजीकृत सदस्यहरु बनाउने परम्पराको अन्त्य गर्नेछु। म आँफै एनआरएनको सदस्य बन्नुपर्छ भन्ने भावना समुदायमा जगाउने गरी काम गर्नेछु।

– एनआरएन सामाजिक संस्था हो। कम्तिमा २ बर्ष ओली, प्रचण्ड, देउवा, नेपाल वा यस्तै नेताहरुको भजन गाउदै फेसबुक रङ्गाउदिन।अरुलाई पनि वाक्क दिक्क पार्दिन। राजनीतिक आस्था राख्न पाउनु पर्ने ब्यक्तिको अधिकार हो तरपनि कम्तिमा दुई बर्ष (एनआरएनको जिम्मेवारीमा रहने बेलासम्म) म स्वतन्त्र भएर सबै नेपालीहरुको साझा नेता बन्ने प्रत्यत्न गर्नेछु। ब्यवहारमा पनि लागु गर्नेछु। बरु ति राजनीतिक आस्थावान संस्थासँग हातेमालो गर्दै अघि बढ्नेछु।मलाई चुनाव जिताउने राजनीतिक संस्थाको मात्रै दुई बर्षसम्म गोटी बन्ने छैन।

– एनआरएनए संस्था धनीहरुको संस्था भन्ने भम्रलाई म तोड्ने छु।मातृभूमिलाई दुख पर्दा एक-एक युरो सहयोग उठाउनेछु। तर नेपाल पठाउने बेला आफ्नो खल्तीबाट नै सहयोग गरेझैँ मिडियाबाजी गर्ने छैन। त्यो व्यक्तिगत सहयोग होईन,समुदायले मिलेर सहयोग पठाएको हो भन्नेबारे प्रष्ट पार्ने छु।

-एनआरएनको अधिवेशन ताका मात्रै नेपाल हाउस वा एनआरएनएको आफ्नै भवन बनाउने जस्ता महत्वकांक्षी योजनाहरुबारे भाषण मात्र ठोक्दीन। नेपाली समाजका ति सपनाहरुलाई साकार पार्न कम्तिमा मेरो कार्यकालमा सम्भावनाहरुबारेको अध्ययन गर्ने छु।र प्रगतिविबरण आगामी कार्यकालका लागि बुझाउनेछु।

– नेपालीहरुलाई दुख समस्या पर्दा अलिकति समय निकालेर भएर पनि पुग्नेछु। बिद्यार्थी,मजदूर वा अन्य नेपालीहरुका समस्यामा समाधान नै गर्न नसके पनि पिडा सुनेर ढाडस दिने कोशिस गर्ने छु। राजदूताबाससँग समन्वय गर्दै आपात विपदमा परेका नेपालीहरुलाई उद्वार गर्नेछु। समस्या समाधानका लागि दूताबासमार्फत सरकारलाई खबरदारी गर्नेछु।

-मेरो ब्यबसायबाट (व्यवसायी भएमा) कसैलाई कन्ट्राक दिईहालेपनि ढाड भाँच्ने गरी १०-१२ हजार युरो ठोक्दीन। (स्पेनको हकमा) बरु कार्ड बन्ने प्रक्रियामा रहेको नेपालीलाई आर्थिक रुपमा वा कुनै न कुनै तवरबाट सहयोग पुर्याउने छु। कार्ड बन्न खर्च हुने मोटो रकमको विकल्प अरु के हुन सक्छ भन्नेबारे सामाजिक अगुवाहरुसँग छलफल गर्नेछु।

– आफ्नो व्यवसायमा (ब्यवसायीको हकमा) नेपाली कामदारलाई राखीहाले भने, पुरै समय काम लगाएर गैर कानूनी तलव खुवाउँदिन। सेवा सुबिधा दिन नसक्ने भए बरु कामदार नै राख्दिन। कुनै पनि नेपाली ब्यबसायीले नेपाली कामदार माथि नै शोषण गरिरहेको छ भने। त्यसको बिरोध गर्छु। छलफलबाट समस्या समाधान नभए कानूनी लड़ाई लडेर भएपनि श्रम शोषण गर्न दिनेछैन।

-एनआरएन संस्थाको नेतृत्व गरेपछि कम्तीमा यहाँको स्थानीय निकायसँग पनि घुलमिल हुने कोशिस गर्ने छु। नेपाली कला र संस्कृतिलाई प्रवद्वन गर्न सहयोग पुर्याउने छु। सवै संस्थाहरुसँग हातेमालो गर्दै बिदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने कार्यक्रमहरु ल्याउनेछु।

-एनआरएनको नेतृत्वमा पुग्नको लागि,पदमा बस्नकै लागि नेपाली समुदायमा हुने तछाडमछाडको बाताबरणको माहोललाई परिवर्तन गर्नेछु। एनआरएनए केन्द्र वा क्षेत्रको कार्यसमितिमा रही गैर कानुनि काम गरेमा,लडाई झगडा र कुटपिटमा सलग्न भएमा वा अन्य अनैतिक काम गरेमा त्यस्ता ब्यक्तिहरुलाई तत्काल अनुशासनको कारवाही गर्न पछि पर्ने छैन। घटनालाई लुकाएर संरक्षण दिने काम गर्ने छैन। बरु कानुनि प्रक्रियामा पुगेर खबरदारी गर्नेछु।

-मानवतस्करीको काममा एनआरएननै संग्लग्न भएका घटनाहरुबारे मेरै कार्यसमितिमा पनि अध्ययन गर्नेछु। मेरै कार्यसमितिका साथिहरुका बाङ्गा पाईलाहरुबारे सदैव चनाखो हुनेछु। म बस्ने देशको सिमानामा अलपत्र परेका नेपालीहरुसँग सदैव सम्पर्कमा रहनेछु। उद्वारका लागि दूताबास र नेपाल सरकारसँग समन्वय गर्नेछु।

-एनआरएनको केन्द्रदेखि नै एनसीसीमा राजनीतिक ठुलो प्रभाव छ। ग्लोबल अधिवेशनको ६ महिना अघि देखिनै जयनेपाल वा कमरेड भन्दै फोन गर्ने केन्द्रिय एनआरएन नेतालाई बेवास्ता गर्नेछु। हाम्रो माहोल (पार्टीको) कस्तो छ ? भन्ने र आफ्नो पार्टी,गुट वा आँफू निकटलाई अधिबेशनबाट जिताउने र महाधिबेशन प्रतिनिधि बनाउन भन्ने नेतालाई बेवास्ता गर्नेछु। अरु दोस्रो पुस्ताका युवाहरुलाई नेतृत्वमा ल्याउने पहल गर्दै मेरो कार्यकालको अन्त्य गर्नेछु।

-थाहा छ माथिका यी सवै कुराहरुलाई व्यवहारमा लागु गर्न मलाई धेरै कठिन हुनेछ। तर परिवर्तन म आँफैबाट हुने हो भन्ने विचारलाई म बिर्सने छैन। त्यसैले २ बर्षसम्म म र मेरो टिम मिलेर परिवर्तनका लागि कोशिस भने अवश्य गर्नेछु।

(पत्रकार रानाभाटको फेसबुक पोष्टबाट यो सामग्री लिएका हौ। 


प्रकाशित | १३ असार २०७८, आईतवार १७:२२