युरोकप : इटालीको सानदार सुरुवात

एजेन्सी । इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो ।

रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो ।

६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २-० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ । टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ ।

युरोकप अन्तर्गत भोलि (शनिबार) तीन खेलहरु हुनेछ । यस पटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार ०९:२४