गलत समाचार दिने जुनसुकै मिडियालाई कारवाही गर्ने नवनियुक्त अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने ठूला मिडियाप्रति समेत काउन्सिल कडारूपमा प्रस्तुत हुने बताउनु भएको छ । आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा खर्चने बताउनु भएको हो ।

प्रेस काउन्सिल नेपालमा भएको सपथ ग्रहण कार्यक्रममा उहाँले अबको काउन्सिलले इतिहास रच्ने गरी कार्यसम्पादन गर्ने र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा रहने बताउनुभयो ।

नेपाल सरकारले काउन्सिलको गरिमा र महत्वलाई बुझी लामो समयदेखि रिक्त अध्यक्ष पद पूर्ति गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिल नेपालको ऐन र नियममा टेकेर संस्थाको भावना र मर्मअनुरूप स्वस्च्छ पत्रकारिताको विकासमा पहल गर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष बस्नेतले काउन्सिलमा धेरै काम गर्न बाँकी रहेको भन्दै संस्थाको गरिमालाई उच्च बनाउन गम्भीर ढङ्गबाट समीक्षा गर्दै अघि बढ्ने बताउनुभयो ।

वैकल्पिक मिडियामा देखिएका केही बेथितिका कारणले पत्रकार र गैर पत्रकार छुट्याउन गाह्रो भैरहेको, अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै अब अनुगमन कडाइको साथ गर्ने उल्लेख गर्नुभयो ।

पत्रकार आचारसंहिताको उल्लङ्घन गरी राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्दै उत्रनेलाई कारबाहीको दायरामा ल्याइने बताउँदै उहाँले भन्नुभयो, ‘गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने ठूला मिडियाप्रति समेत काउन्सिल कडारूपमा प्रस्तुत हुनेछ ।’


प्रकाशित | २४ जेष्ठ २०७८, सोमबार १०:४२