काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि एक साता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले थप एक साता कडा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइएको हो ।

अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ। तर, अब किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने भएको छ । साथै सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ ।

निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।


प्रकाशित | ११ जेष्ठ २०७८, मंगलवार १९:३३