भिसाको राजस्व उठाउँदै, मास्दै

काठमाडौं : विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले भिसा स्टिकरबापतको ठूलो रकम राज्य कोषमा दाखिला नगर्दा हिनामिना भएको आशंका उत्पन्न भएको छ। नेपाली दूतावास र महावाणिज्य दूतावासहरूले भिसा स्टिकरको राजस्व दाखिला नगरेको सरकारी निकायले नै प्रष्ट पारेको छ। अध्यागमन विभागले बारम्बार राजस्व दाखिला गर्न आग्रह गर्दै आए पनि उनीहरूले बेवास्ता गर्दै आएको अन्नपूर्ण पोस्टमा खबर छ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा समेत भिसा स्टिकरबापतको राजस्व विवरण अद्यावधिक नभएको उल्लेख छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले स्टिकर दिएको तर त्यसबापतको राजस्व दाखिला भए/नभएको विवरण आफूसँग नभएको बताए। ‘विभागमातहतका कार्यालयबाट भिसा स्टिकरबापत उठेको रकम दैनिक दाखिला भइरहेको छ’, उनले भने, ‘प्रत्येक दिन भिसाको विवरण र रकम बुझाउनु पर्छ।’ यो खवर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

महालेखाको लेखापरीक्षणमा अवैतनिक वाणिज्यदूतहरूले लगेको भिसा स्टिकरको अभिलेख अधिकांश नियोगले नराखेको पाइएको छ। ‘रेकर्ड नराख्नुको मुख्य कारण कि त स्टिकर बेचेर खाएको हुनुपर्छ कि लापरवाही छ’, अध्यागमनका एक अधिकारीले भने, ‘अधिकांश दूतावास अनियमिततामा संलग्न रहेको हुनु पर्छ।’


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०७:०८