सञ्चारमन्त्री गुरुङको घोषणा : अब बाँकी काम पूरा गर्न लागिपर्छु

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूले अघिल्लो कार्यकालमा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सबै विभाग, संगठनबाट भरपूर सहयोग पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैको सहयोगबाट हिजोको बाँकी काम पूरा गर्न लाग्नेछु ।’

शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले ‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत गर्नुभयो । उहाँले अघिल्लो पटक गत असोज २९ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँले आज मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो पहिलो कार्यकाल विवादित नभएको जनाउँदै अब पनि प्रतिबद्ध भएर काम गरिने बताउनुभयो । मन्त्री गुरुङले नेपालमा कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङको कार्यकालमा धेरै सुधारको काम थालनी गर्नुभएको जानकारी दिनुभयो ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार २१:१३