काँग्रेस–माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने हुनु भएको छ ।

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ । कांग्रेस, माओवादी केन्द्र र सिंगो जसपा एकठाउँमा उभिएको भए संसदमा एमालेबाहेकका दलको बहुमत पुग्नसक्थ्यो । तर जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा देखिएनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भएको भेटमा पनि ठाकुर र महतोले साथ दिन नसक्ने बताउनु भयो ।
कांग्रेस–माओवादी नेताहरुको अपेक्षा थियो, एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्छन् । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति जुटेको छ र नेपाल पक्षका सांसदको राजीनामा तत्काललाई टरेको छ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार २०:११