व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउनुहुन्छ । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य व्यायामले धेरैलाई श्वासप्रश्वासमा सहज बनाउन सक्छ”, उहाँको भनाइ छ । डा. पाण्डेका अनुसार घोप्टो परेर सुत्दा श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुग्छ । “यो पुरानो विधि हो । यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ”, उहाँ थप्नुहुन्छ ।

अस्पतालमा समेत यस्तो विधि प्रयोग गरिएको डा. पाण्डेको भनाइ छ । उहाँले थप्नुभयो, “बिरामीलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन । त्यस्तो बेला हामी उहाँहरूलाई घोप्टो पार्छौं । यसो गर्दा फोक्सो फैलिन पाउँछ र श्वासप्रश्वासमा सजिलो हुन्छ ।”

उहाँका अनुसार फोक्सोको सबभन्दा गह्रौँ भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ ।त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

यता कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ । यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ । ” अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उहाँको छ ।

प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ । उहाँ भन्नुहुन्छ, “प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ । ” कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उहाँले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउनुभयो ।

डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि अक्सिजन आपूर्तिका लागि घोप्टो परेर सुत्न सल्लाह दिएको छ । अमेरिकन थो¥यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड–१९ का बिरामीमा गरेको अध्ययनमा घोप्टो पारिएका बिरामीको तुलनामा नपारिएका बिरामीमा फोक्सोको फैलिने क्षमता कम पाइएको जनाइएको थियो । – गोरखापत्र


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार ०९:५१