‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा भवन भट्टले गरे १० करोडको प्रतिबद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ मा संघका पूर्व अध्यक्ष भवन भट्टले १० करोडको प्रतिबद्धता जनाउनुभएको छ । टिभीआई गुप्रका सचिवालय प्रमुख भरत चन्दका अनुसार १० करोडको प्रतिबद्धतमा हस्ताक्षर समेत भइसकेको छ । चाँडै प्रतिबद्धता अनुसार रकम दाखिला गरिनेछ ।

संघका तत्कालीन अध्यक्ष भट्टको पालमा नेपालमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ ‘नेपाल ईन्भेष्टमेन्ट समिट-२०१९’ आयोजना भएको थियो । सम्मेलनका अवसरमा एनआरएनले १० अर्बको लगानी कोष मार्फत लगानी गर्ने घोषणा गरेको यियो । नेपाल डेभलपमेन्ट फन्डको अवधारण संघका संस्थापक अध्यक्ष तथा संरक्षक उपेन्द्र महतोले तय गर्नुभएको थियो । यसलाई निवर्तमान अध्यक्ष भट्टको पहलमा मन्त्रीपरिषद्बाट स्वीकृत गराई विधिवत रुपमा लगानी सम्मेलनमा प्रवेश गराइएको थियो। हाल फन्डको नेतृत्व संघका सस्थापक अध्यक्ष महतोले गर्नु भएको छ।

घोषणा गरिएको १० अर्बको प्रतिबद्धता-पत्रमा संघका तर्फबाट तत्कालीन अध्यक्ष भट्ट र नेपाल सरकारको तर्फबाट लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । १० अर्बको कोषमा सरकारको समेत पाँच प्रतिशत लगानी रहेको छ ।

उता एनआरएन नेपाल डेभलपमेन्ट फण्डका नामले स्थापीत कम्पनीले दर्ता प्रक्रिया सम्पन्न गर्दै यति बेला प्रतिबद्धता जाहेर गरेका संस्थापकहरूबाट रकम माग गर्ने कार्यलाई अघि बढाएको छ। हालसम्म तीन अर्ब रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले जानकारी गराउनुभयो ।

 हालसम्म तीन अर्ब भन्दा बढी रुपैयाँको प्रतिबद्धता आइसकेको छ । 

अन्य संस्थापकहरूबाट उत्त्साहजनक रुपमा प्रतिबद्धता आइरहेको प्रमुख भट्टराईले बाउनुभयो । कम्पनीमा करिब एक सय भन्दा बढी संस्थापक हुनेछन् ।

रकम संकलन पछि गैर आवासीय नेपालीका लागि कम्पनीले विदेशमै प्राथमिक शेयर निष्कासन गर्ने छ। प्रति कित्ता १० डलरका दरमा शेयर निष्कासन गर्ने कम्पनीको योजना छ। उक्त कोषमार्फत खासगरी पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने संघको उद्देश्य छ । कम्पनीमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी हुनेछ । चुरोट र रक्सीबाहेक नाफामूलक मुख्य क्षेत्रहरूमा कम्पनीले लगानी गर्नेछ ।

मुनाफायुक्त क्षेत्रको छनोट गरेर लगानी निश्चित गरिनेछ । साथै भविष्यमा विदेशी लगानीकर्तालाई समेत समेटेर लगानी विस्तार गर्ने उद्देश्य कम्पनीले राखेको छ । नेपालमा लगानी गर्न इच्छुक त्यस्ता लगानीकर्तालाई कम्पनीमार्फत नेपालमा लगानीका लागि पनि सहजीकरण गरिनेछ ।


प्रकाशित | १५ बैशाख २०७८, बुधबार १७:४३