पौडीमा राष्ट्रिय कीर्तिमानसहित गौरिका र शुभमलाई स्वर्ण

बाँके: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंह र एपीएफका सुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी हुन । महिला १०० मिटर बटरफ्लाईमा गौरिकाले निर्धारित दुरी १ मिनेट ०७ दशमलब ९७ सेकेण्डमा पुरा गर्दै स्वर्ण जित्न सफल भइन् । यो सफलतासँगै गौरिकाले १ मिनेट ०८ दशमलब ६३ सेकेण्डको कीर्तिमानसमेत भंग गरिन ।

नेपालगञ्जमा मंगलबार भएको यस स्पर्धामा आर्मीकी डुवना लामाले १ मिनेट १४ दशमलब ०७ सेकेण्डसहित रजत र एपीएफकी श्रीवी महर्जनले १ मिनेट २१ दशमलब ३७ सेकेण्डको समय निकाल्दै कांस्य पदक जितिन् । पुरुष १०० मिटर बटरफ्लाईमा आर्मीका अनुभव सुब्बाले १ मिनेट सुन्य दशमलब ६२ सेकेण्डको समयसहित स्वर्ण जिते ।

यस स्पर्धामा पुलिसका श्यद हम्जा शाहले १ मिनेट सुन्य दशमलब ६६ सहित रजत र एनआरएनएका नाथन दोर्जे शेर्पाले १ मिनेट १ दशमलब ७५ सेकेण्डको समय निकाल्दै कांस्य जिते । पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा एपीएफका सुभमले ३१ दशमलब ९० सेकेण्डको समयसहित स्वर्ण जिते । हिट चरणमा ३१ दशमलब ६० को समय निकालेका उनको यो राष्ट्रिय कीर्तिमान हो । उनले आफ्नै नामको ३२ दशमलब ०१ सेकेण्डको किर्तिमान भंग गरे ।  यस स्पर्धामा पुलिसका दिपाङ्कर अवालेले ३३ दशमलब २५ सेकेण्डको समयसहित रजत र बेदज्ञा राज जोशीले ३४ दशमलब ४२ सेकेण्डसहित कांस्य जिते ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १९:३७