लन्डनका सफल व्यवसायी रविजंग लामिछाने ‘सुप्रवल जनसेवाश्री’ मानपदवीबाट विभूषित

लन्डन । लन्डनका सफल युवा व्यवसायी रविजंग लामिछानेले सुप्रवल जनसेवाश्री (तृतीय) मानपदवीबाट विभूषित हुनुभएको छ । लामिछानेलेमातृभूमिप्रति गरेको निस्वार्थ सामाजिक र परोपकारी योगदानको कदर गर्दै मानपदवीबाट विभूषित हुनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा लामिछानेलाई उक्त मानपदवी प्रदान गर्नुभयो ।

 विशिष्ट पदवी पाएसँगै खुसी ब्यक्त गर्नुहुँदै लामिछानेले आफूले मातृभूमिप्रति गरेको निस्वार्थ सामाजिक र परोपकारी कार्यको कदर भएकोमा आफूलाई गर्व महशुस भइरहेको बताउनुभयो । पर्वत तिलाहार स्थायी बासिन्दा लामिछानेले नेपालको हरेक विपत्तिमा महत्वपूर्ण योगदान गर्नुभएको छ । यसअघि नेपाल सरकारको कोरोना कोषमा १५ लाख रुपैयां सहयोग गर्नुभएको छ । लामिछानेले पर्वत र म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क र स्यानिटाइजरसहित स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो ।

यूके नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष रहनु भएको उहाँ ब्रिटेन नेपाल सोसाइटीसहित बेलायती र नेपालीका कयौं संघसंस्थामा आवद्ध हुनुुहुन्छ । अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक समेत रहनु भएको छ । श्रीराम मन्दिर साउथहल, दुर्गा मन्दिर वेष्ट 
इलिङ, हिलगेट हिल मुरुगान मन्दिर आर्चवे र स्वामी नारायण मन्दिर निज्डेनका आजीवन सदस्य हुनुुहुन्छ ।

नेपलिज हिन्दू फोरम यूकेका संस्थापक सदस्य लामिछाने तमुधिं यूकेका आजीवन सदस्य हुनुहुन्छ । उहाँ नी भिजिट नेपाल २०२० विजनेश फोरमको उपसंयोजक हुनुहुन्थ्यो ।

उहाँले महाभूकम्प पीडितको सहयोगका लागि नेपाल प्रहरी, नेपाली सेना तथा आफ्नो परिवारमार्फत ६ करोड बराबरको राहत सामाग्री वितरण गर्नुभएको थियो ।

साथै प्रधानमन्त्री कोषमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालामार्फत ५१ लाख १७ हजार ७२७ रुपैयां नगद जम्मा गर्नुभएको थियो ।  आध्यात्मिक चिन्तन भएका उहाँले काठमाडौं, पर्वत लगायत ठाउंमा झण्डै एक दर्जन मन्दिर बनाउनुभएको छ । तीनवटा मन्दिर निर्माणाधिन छन् ।

आफ्ना पूजनीय बुवा चन्द्रजंग लामिछानेको स्मृतिमा धुम्बाराही काठमाडौंमा श्री चन्द्रेश्वर महादेव मन्दिर तथा २ तल्ले रुक्विणा भजन कीर्तन मण्डल १ करोड ७० लाख खर्चेर बनाउनुभएको छ । मन्दिर सञ्चालनका लागि अक्षय कोष व्यवस्था गर्नुभएको छ ।

आफ्नो बुवाकै स्मृतिमा श्री मौलाकालीका मन्दिर गैडाकोट नवलपरासीमा श्रद्धालु भक्तजनहरुका लागि भान्छाघर र खानेपानी ट्यांकी तथा धारा निर्माण गर्न २० लाख रुपैयां सहयोग गर्नुभएको छ भने उक्त मन्दिरको विकासका अगुवा नवलपरासीवासी ज्ञानेन्द्रविक्रम महतको सुझाव अनुसार स्वागतद्वार निर्माण तथा अन्य मन्दिर विकास कार्यमा आर्थिक सहयोग गर्नुभएको छ । यसबाहेक पनि लामिछानेले सामाजीक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।


प्रकाशित | ३ बैशाख २०७८, शुक्रबार १९:१६