एनआरएनए फ्रान्सको वार्षिक साधारण सभा अप्रिल २५ तारिखमा हुँदै, यस्तो छ कार्यक्रमको तयारी

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यही अप्रिल २५ तारिखका दिन बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । यस बर्ष कोभिड १९ को कारण थुप्रै बार्षिक कार्यक्रमहरु थन्किएर बस्नु परेको अवस्थामा केही कार्यक्रमहरु भने भर्चुअल रुपमा पनि सम्पन्न गरिएका थिए। त्यसैगरी थुप्रै कार्यक्रमहरु तोकिएको समय भन्दा ढिलो अर्थात् कार्यक्रमलाई पछि सार्नु परेको पनि थियो। ति सबैको कारण एउटै थियो,कोभिड १९ र त्यसले उत्पन्न गरेको प्रतिकुल परिस्थिति। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको साधरण सभा कार्यक्रम पनि तिनै पछि सार्नु परेको कार्यक्रम मध्ये एउटा महत्वपूर्ण कार्यक्रम हो।

सामान्यतया यो कार्यक्रम २०२० कै नोभेम्बरमा नै सम्पन्न गर्ने भनेर सार्वजनिक सुचना निकालिएता पनि तदनुरुप कार्यक्रम सम्पन्न गर्न भौतिक रुपमा फ्रेञ्च सरकारले जारी गरेको नियमन अनुसार अनधिकृत र कानुनी रुपमा सभा भेला गर्दा दण्डनीय रहनुको साथै संक्रमणको संवेदनशीलतालाई मनन गर्दै कार्यक्रमलाई स्थगित गरिएको थियो। लामो समयको अन्तराल पछि पनि स्थिति नसुध्रिएकाले यस कार्यक्रमलाई भर्चुअल Zoom Meeting मार्फत नै सञ्चालन गरेर सम्पन्न गर्ने निधो गरिएको छ।

साधारण सभामा विशेषतः संस्थाको आर्थिक प्रगति प्रतिवेदन, विभिन्न उपसमितिहरुको प्रतिवेदन लगायत प्रमुख रुपमा विधान मस्यौदा समितिले तयार गरेको मस्यौदालाई पेश गर्ने कार्यक्रम रहेको छ।

यस साधारण सभामा विशेषतः संस्थाको आर्थिक प्रगति प्रतिवेदन, विभिन्न उपसमितिहरुको प्रतिवेदन लगायत प्रमुख रुपमा विधान मस्यौदा समितिले तयार गरेको मस्यौदालाई पेश गर्ने कार्यक्रम रहेको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि महामहिम राजदुत दिपक अधिकारी रहनु हुनेछ भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) ले गर्नु हुनेछ। कार्यक्रम सञ्चालन संस्थाका महासचिव मिन कुमार श्रेष्ठले गर्नु हुनेछ भने कार्यक्रमको प्राविधिक पक्षको व्यवस्थापन संस्थाका सदस्य उदयराज पाण्डेले गर्नु हुनेछ।

कार्यक्रममा राष्ट्रिय समन्वय परिषद फ्रान्सका संस्थापकहरु,संरक्षक परिषदका सदस्यहरु,भुतपुर्व अध्यक्षहरू र सल्लाहकारहरुको उपस्थिति रहनुको साथै केन्द्रबाट पनि प्रतिनिधिको सहभागिता रहनेछ। फ्रान्समा रहेका सम्पूर्ण संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नुको साथै सम्पूर्ण पञ्जिकृत सदस्यहरुलाई सार्वजनिक रुपमा कार्यक्रमको जानकारी गराइसकिएको छ। यस कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने हुँदा एनआरएनए फ्रान्सको औपचारिक फेसबुकमा हेर्न र प्रतिक्रिया जनाउन सकिनेछ ।


प्रकाशित | १ बैशाख २०७८, बुधबार २०:३८