स्वास्थ्य बीमा थप ६ जिल्लामा सञ्चालन

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।
आजबाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यबिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताउनु भयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्य बीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागु भएको छ ।

यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जना सम्मको परिवार भएको विमितले प्रति बर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउँछन् । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।


प्रकाशित | २५ चैत्र २०७७, बुधबार १७:३०