अन्तत: दर्ता भयो १० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’, चाँडै शेयर निष्काशन हुने (भिडियो रिपोर्टसहित )

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको नेतृत्वमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । लामो समयको अथक प्रयासपछि एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । कम्पनी दर्ता भएसँगै अब संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन सकिने अध्यक्ष पन्तले बताउनुभयो ।

अध्यक्ष पन्तले अब चाँडै प्राथमिक शेयर निष्कासन गरिने जानकारी पनि गराउनुभएको छ । पन्तका अनुसार अब प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गरिनेछ । संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउने छन। कम्पनीमा ८५ प्रतिशत लगानी गैर आवासीय नेपालीको हुने छ । ८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ।

This image has an empty alt attribute; its file name is nrn-investment-company.jpg

उक्त कोषमार्फत खासगरी पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने संघको उद्देश्य छ । कम्पनीमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी हुनेछ । चुरोट र रक्सीबाहेक नाफामूलक मुख्य क्षेत्रहरूमा कम्पनीले लगानी गर्नेछ ।

मुनाफायुक्त क्षेत्रको छनोट गरेर लगानी निश्चित गरिनेछ । साथै भविष्यमा विदेशी लगानीकर्तालाई समेत समेटेर लगानी विस्तार गर्ने उद्देश्य कम्पनीले राखेको छ । नेपालमा लगानी गर्न इच्छुक त्यस्ता लगानीकर्तालाई कम्पनीमार्फत नेपालमा लगानीका लागि पनि सहजीकरण गरिनेछ ।

त्यस्तै, संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान समेत चलाउने भएको छ। निष्कासन गर्न लागिएको शेयर डिम्याट खाता भएका नेपालीले मात्रै आवेदन दिन पाउने छन्।


प्रकाशित | १७ चैत्र २०७७, मंगलवार २०:२३