एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग, अनलाइनमार्फत दरखास्त दिन सकिने

काठमाडौं । सरकारले एकैपटक ६६० एजेन्टको माग गरेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ । भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

परीक्षा केन्द्र काठमाडौँमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ साल वैशाख ५ गतेसम्म दरखास्त दिने समय रहेको छ भने दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेदवार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालीम लिएको हुनुपर्नेछ ।

दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ । भन्सार एजेन्टका लागि आवेदन दिन बिए वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।


प्रकाशित | १६ चैत्र २०७७, सोमबार १६:५६