विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्राउन महावीर पुनको आह्वान (भिडियो रिर्पोट सहित )

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले गैर आवासीय नेपालीहरुलाई बुद्धीको दान गर्न आह्रवान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरुलार्ई वौद्धिक ज्ञानको लगानी गर्न आह्वान गर्नुभएको हो ।

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले विदेशमा रहेका नेपालीहरुमा अथाह ज्ञान र सिपको भण्डार रहने हुँदा आफूले सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा भित्राउनुपर्नेमा जोड दिनुभयो । गैर आवासीय नेपालीले कुनै पनि क्षेत्रमा लगानी गर्ने सोच बनाएमा सहकार्य गर्न केन्द्र तयार रहेको पनि पुनले स्पष्ट पार्नुभयो ।

सो अन्तरक्रिर्यात्मक कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले महावीर पुनले मुलुकको सम्मृद्धिको लागि महान कार्य गरिरहेको बताउनुभयो । पन्तले केन्द्रको अवलोकन गरेपश्चात आफू प्रभावीत भएको बताउँदै गैर आवासीय नेपालीलाई केन्द्रको अवलोकन गर्न आग्रह पनि गर्नुभयो ।

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालमा उपयोग गर्न केन्द्र उत्कृष्ठ रहेकाले गैर आवासीय नेपालीहरुले यसलाई अझ बढी महत्वका साथ लिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आविष्कार केन्द्रलाई अती आवश्यक पर्ने उपकरणहरु खरिदमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । साथै पन्तले आगामी दिनमा आविष्कार केन्द्रका लागि व्यक्तिगत र संस्थागत सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले सिमित स्रोत र साधनको अधिकतम उपयोग गरि आविष्कारको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकेको भन्दै महावीर पुनको प्रशंसा गर्नुभयो ।
विदशमा रहेका नेपालीहरुले सिकेको सिपलाई पनि आविष्कार केन्द्रमार्फत उपयोग गर्न सकिने भन्दै केन्द्रको आर्थिक सम्मृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुले सिकेको सिपलाई स्वेदशमै उपयोग गरि मुलुकको सम्मृद्धिमा सहयोग पुर्याउन पनि आग्रह गर्नुभयो ।

संघका पूर्व अध्यक्ष जीवा लामिछानेले राष्ट्रिय आविष्कार केन्दले नयाँ जोश, जाँगर र कला भएका युवालाई आफ्नो कला कौशल प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा केन्द्रको प्रशंसा गर्नुभयो । संघका संरक्षक समेत रहनुभएका लामिछानेले आविष्कार केन्द्रलाई अभियानको रुपमा अगाडि बढाउन गैर आवासीय नेपाली संघले संस्थागत रुपमा सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

अहिलेको युग नै आविष्कारको युग भएकाले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय सबै क्षेत्रमा अनुसन्धान हुन आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रले धेरै क्षेत्र भन्दा केहि निश्चित क्षेत्रको पहिचान गरी अगाडि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष भवन भट्टले जापानले दोस्रो विश्व युद्धपछि खोज अनुसन्धानकै कारण आफ्ना उत्पादनहरु संसारभर पुर्याउन सफल भएको प्रसंग निकाल्दै नेपालले पनि आविष्कारको क्षेत्रमा ठूलो मात्रामा बजेट छुट्याएको खण्डमा आविष्कार केन्द्रलाई अगाडि बढाउन सकिने बताउनुभयो । भट्टले नेपालमा खाद्यान्नको क्षेत्रमा पनि नयाँ नयाँ आविष्कार गरी गैर आवासीय नेपालीसँग हातेमालो गर्न महावीर पुनसँग आग्रह गर्नुभयो ।

संघका उपाध्यक्ष तथा मानव कल्याणकारी विभागका संयोजक सोनाम लामाले आविष्कार केन्द्रले नयाँ खोज तथा अनुसन्धान गरी देशलाई आर्थिक तथा वैज्ञानीक सम्मृद्धिको क्षेत्रमा अगाडि बढाउन सहयोग गरेको बताउनुभयो । केन्द्रले कोरोना महामारीको समयमा महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । उपाध्यक्ष लामाले केन्द्रलाई भौतीक तथा आर्थिक सहयोग गरिदिन पनि गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा विश्वभर रहेका गैर आवासीय नेपालीलाई महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको भर्चुअल टुर गराउनुभएको थियो । सो कार्यक्रमार्फत केन्द्रलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरिएकोे एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारममणी पोखरेलले विश्वसन्देशलाई जानकारी दिनु भयो ।


प्रकाशित | ९ चैत्र २०७७, सोमबार १३:१९