एमाले नेतृत्वलाई एक सुझाव

सुरेश प्रसाद निरौला

माओवादी जनयुद्ध कालमा हाम्रा धेरै कमरेडहरुको सिन्दुर पुछिएको छ, काख रितिएको छ, अंग भंग हुनु भएको छ र हजारौं कमरेडहरु शहिद पनि हुनुभएको छ तर पनि तत्कालिन नेकपा एमाले र माओवादी पार्टी विच एकता भयो भने हामी एमाले भित्र त सबै एउटै परिवारका सदस्य छौं । त्यसमा पनि हामीहरु विच कुनै काटमार, अंग–भंग पनि भएको छैन, खाली लेखाई र वाक युद्ध मात्र हो, त्यो पनि सर्वाङ्ग नंग्गीएर तर यसमा जे जती कमी कमजोरीहरु भए हामी दुवैले आत्मा आलोचित हुनैपर्छ । एउटा गल्तीलाई भने न्यायलयले नै सच्याई दिएको छ त्यसर्थ “मेरा गोरुका बाह्रै टक्का“ भन्ने ठांउबाट भने हामीहरु पछि हट्नु पर्छ । कोही आगो भए कोही पानी बन्नुपर्छ अनि नरम करम मिलाएर नै हामी अघि बढ्नु पर्छ ।

माओवादी पार्टीबाट आउनु भएका कमरेडहरु पनि आफ्नो घर फर्किनुको विकल्प छैन । समय र परिस्थितिले हामीहरु दुवैलाई छुट्याईदिएको छ । यदी टु साईड लभ हो भने पुःन पार्टी एकता हुने नै छ अन्यथा हामीहरु यही देश भित्र छौं, चुनावी एकता गरेर भएपनि अगाडी बढ्न सकिन्छ त्यसर्थ समयमै हामी संयमित हौं । आमाको दुध चुसेर त केही भएन भने बाबुको घुडा चुसेर चाही के हुन्छ र ?

हामी सबै नेता, कार्यकर्ताहरु जिम्मेवार बन्नुपर्छ अझ पार्टी अध्यक्ष त झन पूर्ण जिम्मेवार हुनुपर्दछ । समय र परिस्थितिले अनि कानुनले पनि हामीहरु सबैलाई फेरी एकपटक नेकपा एमाले हुने सौभाग्य प्राप्त भएको छ । त्यसर्थ यसको पूर्ण सदुपयोग गरि हामीभित्र रहेका आ–आफ्ना कुण्ठा, दम्भ, अहंकार, घमण्ड, रिस राग बाट मुक्त भई अब पोजेटिभ सोचका साथ देश, जनता, पार्टी, नेता, कार्यकर्ता, सुभेच्छुक, सुभचिन्तकहरुलाई आ–आफ्ना अन्तर आत्मा भित्र राखी उहांहरुको मुहारमा हासो र खुशी देखाउनकै लागि भए पनि अब हामीहरु मिल्नुको कुनै बिकल्प नै छैन । खालि कुरा यति मात्र हो की हामीहरु बल्दा–बल्दै मिल्ने कि खरानी भएपछि मात्रै मिल्ने हो ?

अब सबै खाले अनैतिकता र निहित स्वार्थ बाट हामीहरु माथि उठी जुन ठांउबाट गल्ती सुरु भएको छ त्यसै ठांउबाट गल्तीलाई सच्याउदै पार्टीको बिधान, विधि, पद्धती, प्रक्रिया, बिचार, निती, कार्यक्रम आदीलाई मध्य नजर गर्दै त्यसै भित्र बाधिएर मिटिङ, भेला, छलफल, सर–सल्लाह आदी एक भएर हरेक निर्णयहरु गर्न सुरु गर्यौं भने सायद हामी भित्र रहेको तिक्तताको अन्त्य हुने थियो कि ?

देश संविधान, न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिकाको माध्यमले नै चल्छ भने मल्टि पार्टी सिस्टममा पार्टीहरु पनि आ–आफ्ना विधान, विधि, पद्धती, निति , कार्यक्रम अन्तरगत रही चल्ने हो । त्यसर्थ यि सबै खाले प्रोसेस, प्रक्रियाहरुलाई एकातिर पन्छाएर एकाधिकार ढङ्गबाट हामीहरुले चल्न-चलाउन थाल्यौं भने यसको परिणाम दुर्घटना सिवाय अरु केही नहोला । “छोटी मुख बढी बात” भने झै यो मेरो सुझाव मात्र हो । भनिन्छ नि “इन्द्रको अगाडी स्वर्गको ब्याख्या ” जसले जे(जे भन्छन् मलाई भन्नु केही छैन तर “सत्य यही नै हो” यसै गरी हामी सबै संयमित भएर अगाडी बढे हामी सबैको जय हुने निश्चित छ अन्यथा भन्न सकिन्न । कतै हामी सबैमा चेतना भया !


प्रकाशित | ३ चैत्र २०७७, मंगलवार १७:२९