एनआरएनए अमेरिका इतिहासमै सबैभन्दा ठूलो एनसिसी बन्न सफल

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को १८ वर्षे इतिहासमा एनसिसी अमेरिका संसारभरिकै सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । गत आइसिसीको विश्व सम्मेलनमा अमेरिकाको तर्फबाट तीन जनालाई पदाधिकारीमा विजयी गराउन सफल अमेरिका अहिले इतिहासमा नै पहिलो पटक सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको हो ।

वर्तमान कोभिड १९ को वावजुत पनि अघिल्लो दुई वर्षको तुलनामा दोब्बर भन्दा बढी अर्थात करिव १३५ प्रतिशतले सदस्यता संख्यामा बृद्धि भएको छ । एनआरएनका विश्वभर रहेका ८० भन्दा बढी एनसिसीमा अघिल्लो पटक बेलायत सबैभन्दा ठूलो एनसिसी बनेको थियो । तर यो पटक अमेरिकाले एनआरएनएको इतिहासमै सबैभन्दा बढी सदस्य बनाएर रेकर्ड राख्न सफल भएको छ ।

यो पटक अमेरिकामा २१ हजार ८ सय ५४ जनाले सदस्यताको लागि आवेदन दिएकामा २० हजार भन्दा बढीको आवेदन स्वीकृत भइसकेको छ । अघिल्लो पटक एनसिसी अमेरिकामा ९ हजार १५७ जना सदस्य थिए ।

एनसिसी अमेरिकाका अध्यक्ष सुनील साह वर्तमान कोभिड १९ का बावजुत पनि एनआरएन अमेरिकाले खेलेको भूमीका र गरेको कार्यबाट प्रभावीत भएर सदस्यता संख्या ह्वात्तै बढेको र इतिहासमै सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको बताउनुहुन्छ । एनसिसी अमेरिकाले अहोरात्र अमेरिकाबासी नेपालीको हितमा कार्य गरेकै कारण संघप्रतिको विश्वास पलाएको र सदस्यता संख्या दोब्बर भन्दा बढीले बढ्नुले त्यसको पुष्टि गरेको अध्यक्ष साहले बताउनुभयो । एनआरएनए अमेरिकामा यति धेरै संख्यामा सदस्य बन्नुले सबैतिर खुशियाली छाएको बताउनुहुँदै अध्यक्ष साहले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘मेम्बरसिप ड्राइभका क्रममा निकै उत्साहप्रद रुपमा अमेरिकाबासी गैर आवासीय नेपालीले संघप्रति विश्वास जनाई सदस्यता लिनुभयो । धेरैं गैर आवासीय नेपालीले यस अभियानमा चासो र सक्रियता देखाउनुभयो । यो बीचमा हामी अमेरिकाबासी धेरैं गैर आवासीय नेपाली समक्ष पुग्न सक्यौं । धेरैंले संस्थालाई विश्वास गरी गैर आवासीय नेपाली संघ, अमेरिकाको छाता भित्र गोलबन्द हुने चाहना राखी सदस्यता लिनुभयो । तपाईहरु जसले सदस्यता लिनुभएको छैन तपाईहरु पनि गैर आवसीय नेपाली संघ, अमेरिकाको परिवार भित्रनै हुनुहुन्छ । प्राविधिक रुपले मतदाता बन्न तपाईहरु नसक्नुभएपनि संस्थाले प्रदान गर्ने जुन सुकैं सेवाका लागि तपाईहरु पनि उत्तिकैं हिस्सेदार हुनुहुन्छ’, अध्यक्ष साहले भन्नुभयो ।

एनआरएन अमेरिकाले गत फेम्बुअरि १५ तारिखसम्म सदस्यता आवेदनको लागि अन्तिम समयसिमा तोकेको थियो । अन्तिम समयसम्म २१ हजार ८ सय ५४ जनाको आवेदन परेको थियो ।


प्रकाशित | १० फाल्गुन २०७७, सोमबार १०:५८