नेकपा फुटेको होइनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताउनु भएको छ । केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गर्नु भएको छ ।
ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाउनु भयो । सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उहाँको भनाइ थियो ।
उहाँले भगवान् रामको जन्मभूमि नेपाल भन्न नसक्नेहरूले राष्ट्रवादको अभिनय गरेको टिप्पणी गर्नु भयो । उहाँले आफू नेतृत्वको सरकारले विकासको काम गर्दा पार्टीको अर्को समूह छटपटाएको आरोप लगाउनु भयो । उहाँले तोकिएको समयमा निर्वाचन गराएरै छाड्ने उल्लेख गर्नु भयो । निर्वाचन हुँदैन कि भनेर शंका नगर्न उहाँले आग्रह पनि गर्नु भयो ।
उहाँले भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पहिलो चरणको वैशाख १७ र दोस्रो चरणको २७ गते नै निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्नु भयो ।


प्रकाशित | १८ माघ २०७७, आईतवार ०८:३४