साथीहरुले नेतृत्व गर्नुस् भन्नुभयो भने पछि हट्दिन : कुल आचार्य (अन्तर्वार्ता )

एनआरएन भित्र तपाईंहरुको समस्या खास के हो ?

हाम्रो समस्या भन्दा पनि कार्यसमिती र पदाधिकारीहरुले अलि बिधानसम्मत निर्णयहरु गर्नुभएन । केही साथीहरुले निर्णय नै नभएको कुरालाई निर्णय भैंसक्यो भन्नु भयो । बिधानलाई नै मिचेर अगाडि बढ्ने काम भयो । यो मेरो समस्या भन्नु भन्दा पनि अहिले कार्यसमितीमा रहनु भएका साथीहरुबाट आएको समस्या हो । कुल आचार्यको समस्या नभनिदिनुहुन अनुरोध गर्दछु । यो कुरा समिती भित्र तथा बाहिर रहेका साथीहरुले पनि लगातार उठाइरहनु भएको छ । यो कुल आचार्यले चुनाव हारेर भएको समस्या होइन । कार्य समितीभित्र वा चुनाव जितेकै साथीहरुबाट आएको समस्या हो भनेर बुझिदिनुस् ।

तपाईंहरुले विशेष अधिवेशनको किन बिरोध गरेको ? तपाईंको समुह अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयसम्म निवेदन पुगेको छ । के का लागि ?

परराष्ट्र मन्त्रालय ज-जसले निवेदन दिनुभएको छ उहाँहरु सबैजना आइसीसी मेम्बर हुनुहुन्छ । आफूहरुले राखेका कुराहरु सम्बोधन भएनन् भनेर निवेदन दिनुभएको छ । तपाईंलाई एउटा कुरा भनुँ, एनआरएन भित्र समुह भनेर भन्नुहुँदैन भन्दै सबभन्दा पहिले कुरा उठाउने म नै हो । सहमतिले चुनाव लड्नु पर्दछ । हारेपनि जितेपनि यो अभियानमा सँगै हुनुपर्छ भनेर म जहिले पनि भन्ने गर्दछु । यो अर्थमा नियम सम्मत भएन भनेर केहि साथीहरु परराष्ट्रसम्म जानुभएको हो । त्यसको पनि सुनुवाई होला भन्ने हामीले आशा लिएका छौं । अर्को कुरा जुन जुन कुरामा बिमती छन् ति कुरालाई थाँती राखेर र सहमति भएका कुराहरुलाई अगाडि बढाउने बिषयमा अध्यक्ष कुमार पन्त र मेरो बिचमा पनि कुरा भइरहेको छ । र आइएसले पनि त्यो निर्णय गरेको छ भन्ने कुरा सुन्नमा आएको छ ।

तपाईंले समुह छैन भन्नुहुन्छ । समुह छैन, बनाउनु हुँदैन भन्दा भन्दै पनि ठूलै समुह बनिसकेछ होइन र ?

एनआरएन धेरै संस्था हो । हामी ७०-८० लाख नेपालीहरु देश बाहिर छौं । यती धेरै मान्छेहरुको प्रतिनिधि संस्थामा सानातिना कुराहरु आउनु स्वभाविकनै हो । हाम्रो अधिवेशन पनि टूलो भएको थियो । त्यसपछी सामान्य एउटा समुह बनेर सजगता गराइर्हनु आवश्यक पनि हुन्छ । तर संस्थाको हित र भलाइमा जुन समुहले पनि काम गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।

तर अर्को समुहले तपाईंहरुले संस्थाको हित अनुसार काम गर्न दिनुभएन भनेको छ त ?

अहिले हामी मिल्ने र एक हुने बाटोमा छौं । त्यसैमा छलफल र बहसमा केन्द्रित छौं । यस्ता भड्काउ प्रश्न नउठाउन अनुरोध गर्छु । आभारी हुने छु ।

तपाईंहरुको बिवाद मिल्छ त अब तुरुन्तै ?

यो ब्यक्तिगत कुरा भन्दा पनि संस्थागत कुरा हो । यहाँँ भित्र देखिएका नितिगत कुराहरुलाई कसरी सामान्यिकरण गर्न सकिन्छ भनेर छलफल गर्दैछौं । हाम्रा काम र छलफल संस्थाको हितका लागि अघि बढिरहेका छन । यसमा तपाईंहरुको पनि सहयोग भयो भने यतिधेरै नेपालीहरुको प्रतिनिधि संस्था गतिलोसँग अगाडि बढ्न सक्छ ।

एनआरएनका अध्यक्षको त तपाईंहरुबाट असहयोग भयो भन्ने गुनासो छ त ?

उहाँहरुले पनि सहयोग माग्नु भयो कि भएन त्यसको पनि जानकारी पाउन पाए आभारी हुने थिएँ । मैले चुनाव हारेपछि पनि हार्दिकताका साथ बधाई दिएर हामी मिलेर जानुपर्छ भनेको थिएँ । यो कुरा त्यतिबेला मैले सामाजिक संजालहरुमा पटक पटक लेखेको छु । तपाईंहरुले हेर्न पनि सक्नुहुन्छ । मलाई के लाग्छ भने चुनावमा के भयो भन्ने कुरामा म ब्याक हुन चाहन्न । मेरो ब्यवहारले के भन्छ भने संस्थालाई अगाडि बढाउनका लागि मिलेर जानुको विकल्प छैन । मलाई थाहा पाउन मन लागेको कुरा के भने नि मैले कहाँनेर असहयोग गरें ?

कि एनआरएन भित्र राजनीति घुसेर यस्तो भएको हो ?

संस्था ठूलो भएपछि सबैले यो संस्थालाई माया गर्नु चासो राख्नु सामान्य नै हो । अली अली राजनीति नघुसेको पनि होइन । तर हामी संस्थाको नेतृत्व गर्ने ब्यक्तीहरुले संस्थाको हितमा सहमती कायम गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता छ ।

अहिले आएको एनआरएनको १० अर्बवाला प्रोजेक्टलाई कसरी हेर्नु भएको छ ?

यो प्रोजेक्ट सकारात्मक छ । जहाँँसम्म प्रकृयाका कुरा छन् त्यस बारेमा मेरो अध्यक्ष कुमार पन्तजीसँग कुरा भइसकेको छ । खासमा लगानी संस्थाले नभएर हामीले बनाएका ग्रुपहरुले गर्ने हो, यो कुरा सबैमा स्पष्ठ हुन जरुरी छ । संस्था र यो लगानी भिन्न कुरा हुन् । यस्ता प्रोजेक्टलाई अगाडि बढाउने कुरामा जुन ग्रुपहरु बनाइएका छन् ति ग्रुपहरुले प्रकृयागत रुपमा काम गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।

ए त्यसो भए त यो प्रोजेक्ट एउटा ग्रुपको फाईदाका लागि ल्याइएको रैछ ?

होइन, होइन । यो कस्तो भने संस्थाले आफैंले लगानी गर्दैन । म तपाईंलाई अली राम्रोसँग बुझाउछु । कस्तो भने कुनै लगानी प्रकृया अगाडि बढाउनका लागि हामीले संस्थामा पैसा जम्मा गर्दैनौं । ग्रुप बनाएर, छुट्टै कम्पनी गठन गरेर लगानी गर्नुपर्दछ । त्यसका लागि पैसा जम्मा गर्नु पर्‍यो । पैसा जम्मा गर्नका लागि ग्रुप चाहियो । हो यो कुराको थोरै सहजिकरण संस्थाले गर्छ ।

अबको यो विशेष महाधिवेशन छ नि, तपाईंहरु चुपचाप लागेर सहभागि हुनुहुन्छ ?

तपाईंको प्रश्न भित्र पनि केही कुरा लुकेको जस्तो मैले बुझ्छु । चुपचाप लागेर सहभागि हुने भन्ने कस्तो कुरा हो ? हामीले आज पनि आइएसले सबै बुँदाहरुमा सहमती गरेर अगाडि बढ्ने भनेर निर्णय गरेको छ । भने पछी कसरी चुपचाप जाने भन्ने हुन्छ । हामीले सुझाव दिएका छौं सहमति गरेरै अगाडि बढ्नका लागि । कमिटिका साथीहरुले, आइएस, अफिस बेरर र आइसीसीका साथीहरुले निर्णय गर्नु हुन्छ । त्यसै अनुसार अगाडि बढ्छ ।

कि सबै एक भएर जाने अवस्थामा यो विशेष महाधिवेशन रोकिन्छ ?

यो कुरा त पदाधिकारीहरुलाई सोध्नु भयो भने बढी उपयुक्त हुने थियो । यो विशेष अधिवेशन रोकिन्छ रोकिँदैन भन्नुभन्दा पनि मैले सल्लाह र सुझाव दिने कुरा हो । बैठकका बारेमा केहि भन्न उपयुक्त नहोला ।

अहिले त मुख्य विवाद नै यहि विशेष अधेवेशन देखिएको छ । अधिवेशन रोकीदिए विवाद साम्य हुन्थ्यो होला नि ! यस्तो सुझाव दिनुभएको छैन ?

हामीले वार्तामा बस्दा वा छलफल गर्दा के के सुझाव दिएका छौं त्यो कुरा अहिले ननिकालौं । खासमा बाहिर उठेका र भित्रसम्म सुनिएका कुराहरुलाई सम्बोधन गर्ने कुरामा हामीले दिएका सुझावलाई कार्यन्वयन गरे समस्या समाधान हुन्छन ।

अन्तमा है, अब अर्को महाधिवेशन पनि आउने बेला भइसकेछ ! तपाईंको तयारी के छ ?

म लामो समयदेखि यो संस्थामा काम गरेको मान्छे हुँ । खासमा अहिले नै चुनाव, अधिवेशनमा लाग्ने बेला होइन । काम गर्नुपर्ने धेरै छन् । अहिलेको महामारिले हाम्रा धेरै साथीहरु समस्यामा हुनुहुन्छ । त्यसैले यो बेला यतातिर सोच्ने बेला हो । अर्कोतिर साथीहरुले नै तपाईंले नेतृत्व गर्नुस् भन्नुभयो भने म पछि हट्दिन । तर भर्खरै मेरै उम्मेदवारी हुन्छ भनेर घोषणा गर्ने बेला होइन । स्रोत -नेपाल प्लस


प्रकाशित | ७ माघ २०७७, बुधबार ०९:१३