आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ। ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
यो दिवस हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो ।
यसवर्ष मध्यपुर नगरपालिका थिमिको बोडेमा रहेको कुमारी पार्कमा भूकम्प सुरक्षा दिवस मनाउन लागिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । दिउँसो हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहनुभएको छ । नगरपालिकाको उपसंयोजनमा दिवसको आयोजना गर्न लागिएको हो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।


प्रकाशित | २ माघ २०७७, शुक्रबार ०९:२७