प्रचण्डले सूर्य चिह्न नपाए आँधी हुरी बतास ल्याउँछौ भन्नु हास्यास्पदः महेश बस्नेत

विराटनगर । नेकपाका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गर्नुभएको भन्दै संसद पनुस्र्थापनाको सम्भावना नरहेको बताउनुभएको छ । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद विघटन गरेको जिकिर गर्नु भएको हो ।

प्रचण्डले सूर्य चिह्न नपाए आँधी हुरी बतास ल्याउँछौ भन्नु हास्यास्पद भएको पनि उहाँले उल्लेख गर्नु भएको छ । लोकतन्त्रको महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो भन्दै उहाँले विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने धारणा राख्नु भयो ।

त्यस्तै, केपी ओलीलाई ढाल्नलाई सिठी बजाउने पुष्प कमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल आफै माइतिघरको सडकमा पुग्नुपरेको तथ्य उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड–माधवले आफ्नो अस्थित्व समाप्त हुने भएपछि कांगेसको शरण (कार्यालय) मा पुगी प्रतिगमन भयो भन्न थालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीले नेतृत्व गरेको पार्टी फुलेको तोरीबारी जस्तै हो, प्रचण्ड–माधवले नेतृत्व गरेको झिंगा आउने फोहोरको डंगुर हो ।’

देशभर केपी ओलीको पक्षमा जनमत व्यापक मात्रामा सिर्जना भएको स्पष्ट पार्दै नेता बस्नेतले राजनीतिक डिप्रेसन भई झलनाथले केपी ओलीलाई अनावश्यक लान्छना लगाउने गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्य ज्ञानमा लेखे पनि हुन्छ, जीउँदैमा झलनाथ खनाल फाउण्डेशन खोलेर राज्यको ७२ करोड रुपैंया लाने मान्छे को हो भनि ? सपनामा पनि सर्प सर्प भन्दै देख्नुहुन्छ ।’


प्रकाशित | १ माघ २०७७, बिहीबार १५:४५